Shittalpati
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

पाल्पा, देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार भक्तपुर, अछाम, सप्तरी, कास्की, सिराहा लगायतका स्थानमा भएको सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको हो ।

भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१ लोकन्थली चोकस्थित सडकमा मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनको मृत्यु भएको छ ।  बा.प्र.०८–००१ प ०५२१ नम्बरको मोटरसाइकललाई बा.प्र.०२–०६५ प ४४९७ नम्बरको मोटरसाइकलले शुक्रबार बिहान ठक्कर दिँदा बा.प्र.०२–०६५ प ४४९७ नम्बरको मोटरसाइकल चालक भक्तपुर सिपाडोल बस्ने दोलखा बैतेश्वर गाउँपालिका–४ घर भएका २३ वर्षीय प्रबिन दाहालको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भक्तपुर इन्टरनेश्नल अस्पताल कौशलटारमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बा. प्र.०८–००१ प ०५२१ नम्बरको मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । यस्तै सप्तरीको बलान बिहुल गाउँपालिका–२ चन्ही चोकस्थित सडकमा मोटसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चन्हीबाट बोदेबरसाईनतर्फ जाँदै गरेको मधेश प्रदेश ०१–००५ प २२३० नम्बरको मोटरसाइकल अनियन्त्रत भई दुर्घटना हुदाँ चालक डाक्नेश्वरी नगरपालिका–२ हैराहा पातो टोल बस्ने ३० वर्षीय भागेश्वर यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण अस्पताल राजबिराज हुँदै बिपि स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा थप उपचारको क्रममा मृत्यु भएको हो । 

यस्तै अछामको पञ्चदेवल विनायक नगरपालिका–७ पुल्लेतोलास्थित सडकमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश ०२–००१ त ०२३१ नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ६७ वर्षीय कृत सिंह घर्तीको घटनास्थलमै मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै कास्कीको पोखरा महानगरपालिका–१ सिमपानीस्थित सडकमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । हेम्जाबाट हरिचोकतर्फ आउँदै गरेको ग.९ प ७३५६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोक घर भएकी ५९ वर्षीया ईन्द्रकला पौडेलको शुक्रबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको साहारा अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै सिराहाको कर्जन्हा नगरपालिका–४ भुल्केस्थित सडकमा म.प्र.०३–००२ ख ३९९६ नम्बरको टिपरले म.प्र.०१–००१ ज ०१२४ नम्बरको ईभी गाडीलाई शुक्रबार बिहान ठक्कर दिँदा ईभी गाडीमा सवार गोलबजार नगरपालिका–४ बस्ने ४५ वर्षीया शोभा कुमारी यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको फूलकुमारी महतो मेमिरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ईभी गाडी चालक समेत ३ जनाको मेडिसिटी अस्पताल काठमाडौंमा र २ जनाको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: शनिबार, असोज १७, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update