Shittalpati
वर्षाले पाल्पाका सडक क्षतविक्षत, पुल समेत जोखिममा

पाल्पा, चार दिनदेखि लगातार परेको वर्षासँगै आएको बाढी र पहिरोले पाल्पाका सडक तथा पुलमा व्यापक क्षति पुगेको छ । मुख्य राजमार्गदेखि ग्रामीण सडकसम्म दर्जनौँ स्थानमा पहिरो खस्दा यातायात प्रभावित भएको छ भने कालीगण्डकी नदीमा आएको बाढीले पक्की तथा झोलुङ्गे पुलसमेत क्षतिग्रस्त बनाएको छ ।

वर्षाका कारण कतिपय सडकको तल्लो भाग कटान भएर सडक भासिएको छ भने ठाउँ–ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा यात्रु तथा सवारीसाधन अलपत्र पर्नुका साथै ग्रामीण क्षेत्रका बासिन्दाले दैनिक उपभोग्य वस्तु, कृषि उपज तथा बिरामीलाई उपचारका लागि अस्पतालसम्म लैजानसमेत समस्या भोग्नुपरेको छ । सिद्धार्थ राजमार्गअन्तर्गत बर्तुङ्ग–राम्दी सडकखण्डको माथागढी गाउँपालिका–१, चिदिपानी, धेरैनीमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । वर्षाका कारण सडकको तल्लो भाग कटान हुनुका साथै राजमार्गको करिब आधा भाग भासिएपछि मंगलबार बिहानैदेखि यातायात प्रभावित भएको स्थानीय शिशिर भट्टराईले जानकारी दिए । राजमार्ग अवरुद्ध भएपछि स्याङ्जा र पोखराबाट बुटवलतर्फ तथा बुटवलबाट पोखरातर्फ जाने ठूला सवारीसाधन सडकमा अलपत्र परेका छन् । यो समाचार तषर पार्दासम्म मोटरसाइकल तथा साना सवारीसाधनलाई मात्र सावधानीपूर्वक गन्तव्यतर्फ पठाइएको छ ।

सडकको तल्लो भागबाट जग निकाल्न नमिल्ने भएकाले माथिल्लो भाग कटान नगरी ठूला सवारीसाधन सञ्चालन गर्न सकिने अवस्था नरहेको सडक डिभिजन पाल्पाका निमित्त प्रमुख पवित्रमणि आचार्यले बताए । यस्तै रूपन्देहीको सालझण्डीदेखि रैनादेवी छहराको सुन्दरेढुङ्गा जोड्ने सडकखण्डमा दर्जनौँ स्थानमा पहिरो खसेपछि यातायात अवरुद्ध भएको छ । रिब्दीकोट गाउँपालिकाको मुख्य सडकदेखि मुझुङ–मैनादी जोड्ने मोटरबाटो पनि पहिरोका कारण पूर्ण रूपमा बन्द रहेको स्थानीय कृष्ण पोखरेलले बताए । त्यस्तै, पूर्वखोला जोड्ने विभिन्न ग्रामीण सडक तथा माथागढी गाउँपालिकाको केन्द्रदेखि रूपन्देहीको खैरेनी जोड्ने मोटरबाटो पनि पहिरोका कारण प्रभावित भएका छन् । निस्दी गाउँपालिकाको केन्द्रसम्म जोड्ने करिब सात किलोमिटर सडकमा मात्रै १० स्थानमा पहिरो खसेको छ । ढुङ्गानाबेँसी–मित्याल सडकखण्डमा पनि दर्जनौँ स्थानमा पहिरो खसेपछि यातायात अवरुद्ध भएको छ । तिनाउ गाउँपालिका–तल्लो कचलमा पनि पहिरोका कारण चार दिनदेखि बजारसँगको सडक सम्पर्क विच्छेद भएको स्थानीय विपिन आचार्यले जानकारी दिए । 

सडक अवरुद्ध भएपछि स्थानीय तहले डोजर तथा अन्य साधन परिचालन गरी सडक खुलाउने प्रयास गरिरहेका छन् । लगातारको वर्षासँगै कालीगण्डकी नदीमा आएको बाढीले पक्की तथा झोलुङ्गे पुलमा समेत क्षति पुर्‍याएको छ । सडक डिभिजन पाल्पाका अनुसार रामपुर नगरपालिका–३, केलादीस्थित मोटरेबल पुल प्रभावित भएको छ । कालीगण्डकीको बाढी पुलभन्दा माथिबाट बगेपछि पुलका पाल्पातर्फका दुई स्पानमा क्षति पुगेको सडक डिभिजन पाल्पाका निमित्त प्रमुख आचार्यले बताए । उनका अनुसार रामपुरदेखि मित्याल हुँदै पूर्वी नवलपरासीको अरुणखोला जोड्ने सडकखण्डमा पर्ने अर्को नदीमाथिको पुलमा समेत क्षति पुगेको छ । पुलमा क्षति भएपछि उक्त क्षेत्रमा आवागमन बन्द गरिएको छ । सडक र पुल अवरुद्ध हुँदा यातायातमा मात्रै नभई स्थानीयको जनजीवन र अर्थतन्त्रमा समेत प्रत्यक्ष असर परेको छ । बिरामीलाई समयमै अस्पताल पुर्‍याउन कठिनाइ हुनुका साथै किसानले उत्पादन गरेका दूध, तरकारी, खुर्सानीलगायत कृषि उपज बजारसम्म पुर्‍याउन नसक्दा ठूलो आर्थिक क्षति बेहोर्नुपरेको छ । रिब्दीकोट र तिनाउ क्षेत्रका किसानका लागि अहिले खुर्सानी उत्पादन गरी बजारमा पठाउने मुख्य समय हो ।

तर सडक अवरुद्ध भएपछि खेतमा पाकेको खुर्सानी बजारसम्म लैजान नसकिएको किसान तथा व्यवसायीले बताएका छन् । स्थानीय कृषक विष्णु प्रसाद पोखरेलका खेतमा पाकेर राताम्य भएको खुर्सानी टिपेर बजार पुर्‍याउन नसक्दा खेतमै कुहिन थालेको छ । सडक लामो समयसम्म नखुले उत्पादनमा थप क्षति हुने भन्दै उनी चिन्तित छन् । बाढीपहिरोबाट भएको क्षतिको विवरण संकलनसँगै सडक सञ्चालनका लागि स्थानीय तह तथा सम्बन्धित निकायले पहल थालेका छन् । पहिरो पन्छाउने, सडकमा थुप्रिएको माटो तथा ढुंगा हटाउने र क्षतिग्रस्त संरचनाको तत्कालीन मर्मत गर्ने काम भइरहेको सम्बन्धित स्थानीय तहले जनाएका छन् ।

प्रकाशित मिति: बुधबार, असोज १४, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update