पाल्पा, देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा परी पाँच जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने दुई जना मृत अवस्थामा फेला परेका छन् । धनुषा, नवलपरासी पूर्व, तनहुँ, बर्दिया र धादिङमा भएका ति घटनामा पाँच जनाको मृत्यु भएको हो ।
नवलपरासी पूर्वको कावासोती नगरपालिका–८ फलफूल चोकमा मोटरसाइकल र ट्रक एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार सोही नगरपालिका–११ कुडौली बस्ने अर्घाखाँची घर भएकी २५ वर्षीया पुष्पा चौहानकी छोरी १७ महिनाकी प्रविशा बिसिको मृत्यु भएको छ । प्रदेश ०१–०२–००१ ख ८०७७ नम्बरको ट्रकले लु.७० प ८२८४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएकी प्रविशाको प्रादेशिक अस्पताल डण्डामा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार अर्का एक जना घाइते भएका छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ । यस्तै धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्थास्थित सडकमा सोमबार बिहान मोटरसाइकलको ठक्करबाट पैदलयात्री ७५ वर्षीया सुरतिया देवी अमातको मृत्यु भएको छ ।
रेल्वे स्टेसनबाट कुर्था बजारतर्फ आउँदै गरेको नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । यस्तै तनहुँको शुक्लागण्डकी नगरपालिका–२ नर्सरीस्थित सडकमा सोमबार बिहान हायसको ठक्करबाट ६७ वर्षीय इन्द्रबहादुर श्रेष्ठको मृत्यु भएको छ । पोखराबाट बेलचौतारातर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ख ३८८४ नम्बरको हायसले ठक्कर दिँदा गम्भीर घाइते भएका श्रेष्ठको गण्डकी अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । हायस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैबीच, बर्दियाको गुलरिया नगरपालिका–४ मिलन चोकस्थित सडकको नालीमा सोही ठाउँकी ४० वर्षीया कमला सुनार सोमबार मृत अवस्थामा फेला परेकी छन् । उता धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ बेनीघाट बजारस्थित दर्बुङ दाजुभाइ गेस्ट हाउसमा लमजुङको राइनास नगरपालिका–८ तारकुघाटका ५२ वर्षीय प्रधुन्न प्रसाद कँडेल पनि मृत अवस्थामा फेला परेका छन् । मृत्युका यी घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।


