पाल्पा, पाल्पाको तानसेन नगरपालिका–८, भालेबासस्थित सिद्धार्थ राजमार्गमा फोर्स गाडी दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन् । आज दिउँसो बुटवलबाट तानसेनतर्फ आउँदै गरेको भे १ ज ९७६ नम्बरको फोर्स गाडी दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका हुन् ।
घाइते हुनेमा पूर्वखोला गाउँपालिका–१ का करिब २९ वर्षीय चालक नरबहादुर राना, सोही स्थानका ५० वर्षीय कृष्णबहादुर राजमगर, पूर्वखोला गाउँपालिका–४ घर भई हाल तानसेन नगरपालिका–४ भगवतीटोल बस्ने २८ वर्षीया मनकुमारी सारु , उनकी ७ वर्षीया छोरी साहिरस सारु, पूर्वखोला गाउँपालिका–४ की ६३ वर्षीया अनसरा खाम्चा, उनकी ५ वर्षीया नातिनी सायरा खाम्चा रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए । उनका अनुसार घाइते मध्ये अनसरा गम्भीर घाइते भएकी छन् । घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि प्रहरी चौकी प्रभासबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा तथा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी निरीक्षकको कमान्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो । गाडी आफैँ अनियन्त्रित भई सडकबाट २० मिटर तल खसेको छ । दुर्घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


