Shittalpati
पाल्पाका ४७ जना संक्रमितले कोरोना जिते

रामचन्द्र रायमाझी

पाल्पा । पछिल्लो समय जिल्लामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै जाँदा निको भएर घर फर्किनेहरुको संख्या पनि बढ्दै गएको छ । संक्रमितको संख्या बढ्दै जाँदा मानिसमा त्रास फैलिरहेको अवस्थामा संक्रमित निको भएर घर फर्कदा कोरोना भाइरस निको हुँदो रहेछन् भन्ने महसुश समेत भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको सोमबारसम्मको तथ्याङ्क अनुसार जिल्लामा ४७ जना संक्रमितले कोरोना जितेका छन् । सोमबारमात्र रम्भा गाउँपालिकाका १७ जना र रैनादेवी छहरा गाउँपालिकाका १२ जना गरी २९ जना संक्रमित निको भएर घर फर्किएका छन् । कोरोना जितेर घर फर्किएका रम्भा गाउँपालिकाका १७ जना लुम्विनी मेडिकल कलेज प्रभासको आइसोलेशन सेन्टरमा उपचारत रहेका थिए ।

उनीहरुलाई सोमबार नै गाडीको प्रवन्ध मिलाई घर पठाइएको गाउँपालिकाका अध्यक्ष विष्णु भण्डारीले बताए । योसँगै गाउँपालिकामा संक्रमणबाट निको हुनेको संख्या २५ पुगेको छ । त्यस्तै कोरोना जितेर घर फर्किएका रैनादेवी छहरा गाउँपालिका १२ जना पनि लुम्विनी मेडिकल कलेज प्रभासमा निर्माण गरिएको आइसोलेशन सेन्टरमा उपचार गराइरहेका थिए । उनीहरु सबै घर फर्किसकेको गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक जीवन रानाले बताए । योसँगै गाउँपालिकामा कोरोना जितेर घर फर्किनेको संख्या १४ पुगेको छ । यस अघि माथागढी गाउँपालिकामा २, रिब्दीकोट गाउँपालिकामा १ जना, रामपुर नगरपालिकाका २ जना निस्दी गाउँपालिकाका १ जना, पूर्वखोला गाउँपालिकाका १ जना र गुल्मीको रुरु गाउँपालिकाका १ जना निको भएर घर फर्किए सकेको जिल्ला स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन श्रीकृष्ण भट्टराईले जानकारी दिए । उनीहरु जिल्लाका विभिन्न आइसोलेशन सेन्टरमा बस्दै आएका थिए ।

संक्रमितको संख्या ५ सय ४०

जिल्लामा कोरोना संक्रमितको संख्या ५ सय ४० पुगेको छ । सोमबार माथागढी गाउँपालिकाका २ जना र तिनाउ गाउँपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५ सय ४० पुगेको हो । माथागढी गाउँपालिकाका थप २ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । उनीहरु तीन हप्ता अघि भारतबाट आएर वडा ३ को दिव्यज्योती मावि कसेनीको क्वारेन्टाइन बस्दै आएको गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले बताए । योसँगै गाउँपालिकामा संक्रमितको संख्या २९ पुगेको छ । त्यस्तै तिनाउ गाउँपालिकाका २ जनामा पनि संक्रमण देखिएको छ । योसँगै गाउँपालिकामा संक्रमितको संख्या ८ पुगेको छ । यसअघि बगनासकालीमा ३७ , रैनादेवी छहरा गाउँपालिकामा ३८,तानसेन नगरपालिकामा १३, रामपुर नगारपालिकामा १ सय १४, रम्भा गाउँपालिकामा ३९, पूर्वखोला गाउँपालिकामा १ सय ५९, रिब्दीकोट गाउँपालिकामा ५, निस्दी गाउँपालिकामा ९५,उपचारको क्रममा लुम्विनी मेडिकल कलेजमा गुल्मीका २ जना र अर्घाखाँचीका एक जनामा कोरोना संक्रमण देखिएको थियो । संक्रमित मध्ये पूर्वखोलाका एक जनाको उपचारको क्रममा मत्यु भएको थियो ।

प्रकाशित मिति: सोमबार, असार २२, २०७७  १९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update