Shittalpati
नागरिकको सुरक्षाबारे गम्भीर बन

देशभर स्थानीय सरकार र प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइनको अवस्था दर्दनाक बन्दै गएका घटनाहरु बाहिर आएका छन् । कोरोना भाईरस संक्रमण फैलिन नदिन बाहिरबाट आएका र शंकास्पद व्यक्तिलाई राख्न निर्माण गरेका क्वारेन्टाइनहरु असुरक्षित र अव्यवस्थित भएपछि अवस्था दिनहुँ दर्दनाक बन्दै गएको हो । यो दुःखको कुरा हो । क्वारेन्टाइन व्यवस्थित हुन नसक्दा क्वारेन्टाइन स्थलमै नागरिकको ज्यान जानु आफैमा अव्यवस्थित, भद्रगोल, लापरवाही र गैरजिम्मेवारीको उत्कर्ष हो । अधिकांश क्वारेन्टाइनहरु विद्यालय तथा सामुदायिक भवनमा निर्माण भएका छन् । त्यहाँ बन्दोबस्तीको न्यूनतम व्यवस्था समेत छैन । शान्ति सुरक्षाको प्रत्याभूति दिनु राज्यको दायित्व हो । शान्ति सुरक्षाको व्यवस्थापनमा लापरवाही हुनु भनेको प्रतिकूलताले जन्म लिनु हो । जसका कारण कानूनी राज्यको मान्यतामा दाग लाग्न सक्छ । अहिलेको सन्दर्भमा सरकारले क्वारेन्टाइनको व्यवस्थापन र सुरक्षामा चुकेका कारण अकल्पनीय घटनाहरु उजागर हुँदै गएका छन् ।

क्वारेन्टाइनमा रहेका नागरिकले असुरक्षित भएको व्यापक गुनासाहरु गर्न थालेका छन् । क्वारेन्टाइनमा रहेकाहरुले सफा खानेपानीको व्यवस्था नभएको, मास्क तथा स्यानिटाइजर नपाएको, खाना र खाजा घरबाटै लैजानु परेको, विद्यालयमा बेञ्च जोडेर सुत्नु परेको, झूलको व्यवस्था नहुँदा लामखुट्टेको टोकाइ सहनु परेको र समयमै उपचार नपाएकोजस्ता गुनासा गरिरहेका खबर सार्वजनिक भइरहेका छन् । सरकारको कामकारवाही र कोरोना रोकथामका विषयमा सांसददेखि मानवअधिकारवादी, निजी क्षेत्र तथा आमनागरिकले सडकबाट सरकारलाई झकझक्याइरहेका छन् । सरकारमाथि प्रतिपक्षको कटाक्ष र सत्तापक्षको बचाउको श्रृंखला चलिरहेको छ । तर, देशभरका क्वारेन्टाइनमा देखिएको सुरक्षा सवालबारे सरकार गम्भीर नभएकै कारण क्वारेन्टाइनको बेथिति झल्किएकोमा कुनै द्विविधा छैन । नेपालमा क्वारेन्टाइनहरु मापदण्ड विपरीत सञ्चालन भइरहेकोमा पनि कुनै विमति छैन । यस्तै, बेथितिका कारण क्वारेन्टाइनमै महिला बलात्कृत हुनुपर्ने र क्वारेन्टाइनभित्रै आत्महत्या गरेका घटना सार्वजनिक भइरहेका छन् । तसर्थ सरकारले आम नागरिकको सुरक्षाका विषयमा गम्भीर बन्न जरुरी छ ।

प्रकाशित मिति: सोमबार, असार २२, २०७७  १०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update