Shittalpati
लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन, तीन नयाँ मन्त्रीले लिए शपथ

बुटवल, लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन भएको छ । लुम्बिनी प्रदेशमा एमाले, नेकपा र जसपाबीचको सहमतिअनुसार मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो ।

वर्तमान सरकारमा नेकपा एमालेबाट मुख्यमन्त्रीसहित चार जना, नेपाली कम्युनिस्ट पार्टीबाट तीन जना र जनता समाजवादी पार्टी, नेपालबाट दुई जना मन्त्री रहने गरी भएको सहमतिअनुसार मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । केन्द्रमा आएको राजनीतिक परिवर्तनसँगै नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएपछि लुम्बिनी प्रदेशमा नेपाली कम्युनिस्ट पार्टीसँग सत्ता साझेदारी गरेको हो । नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम गठित तथा पुनर्गठित मौजुदा मन्त्रिपरिषद्को कार्य विभाजनसहित मन्त्रिपरिषद् पुनर्गठनका लागि मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका थिए । मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ तीन मन्त्री नियुक्त गर्दै केही साविकका मन्त्रीको जिम्मेवारी परिवर्तन गरेका छन् ।
 

तीन मन्त्रीले लिएर शपथ
नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन् । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले मंगलबार बुटवलमा नवनियुक्त स्वास्थ्य मन्त्री दीपेन्द्रकुमार पुन, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रजीत थारू र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री कृष्णाकुश्मा थारूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । प्रदेश प्रमुख घर्तीमगरले मुख्यमन्त्री आचार्यको सिफारिसमा सोमबार नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मौजुदा मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । मन्त्रिपरिषद् पुनर्गठनसँगै तुलसीप्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन मन्त्रालय, रामजीप्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालय, सन्तोषकुमार पाण्डेयलाई सहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा भण्डारीलाल अहिरलाई आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

यसअघि स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका रामजीप्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारीमा रहेका तुलसीप्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन मन्त्रालयको जिम्मेवारी तोकिएको छ । त्यस्तै, सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका सन्तोषकुमार पाण्डेयलाई शहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ । तीन मन्त्री थपिएसँगै लुम्बिनी प्रदेश सरकारमा मन्त्रीको संख्या मुख्यमन्त्रीसहित ९ पुगेको छ ।
 

तीन सांसदलाई स्पष्टीकरण माग
जनता समाजवादी पार्टी (जसपा) नेपाल आफ्ना तीन प्रदेशसभा सदस्यलाई २४ घण्टाभित्र पुनः स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।  पार्टीको निर्देशन र नीतिविपरीत प्रदेश सरकारलाई विश्वासको मत दिएको भन्दै पार्टीले मंगलबार प्रदेश सभा सदस्य सन्तोषकुमार पाण्डे, हेमा बेल्बासे र भण्डारीलाल अहिरसँग २४ घण्टाभित्र पुनः स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो । तीन जनामध्ये पाण्डे सहरी विकास, खानेपानी, ऊर्जा, जलस्रोत तथा सिँचाइ र अहिर आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायातमन्त्री छन् । पार्टीले साउन ३१ गते नै लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएर विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन गरेको थियो । तर, जसपाका तीन सदस्यले भदौ १ गते एमालेका मुख्यमन्त्री चेतनारायण आचार्यलाई विश्वासको मत दिएका थिए । 

प्रकाशित मिति: बुधबार, भदौ १०, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update