Shittalpati
खोलामा मोटरसाइकलसहित बगेर बेपत्ता युवक मृत फेला

स्याङ्जा,स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौदीखोलाले मोटरसाइकलसहित बगाएर बेपत्ता बनाएका एक युवकको शव शुक्रबार आँधीखोलामा फेला परेको छ । प्रहरीका अनुसार विहीबार राति पुतलीबजार नगरपालिका–१ स्थित अरौदीखोलाले पुतलीबजार नगरपालिका–३ बाडखोलाका २१ वर्षीय सलिम मगरलाई ग ११ प ८१८३ नम्बरको मोटरसाइकलसहित बगाएर बेपत्ता बनाएको थियो ।

घटना लगत्तै सुरक्षाकर्मीको टोलीले बेपत्ता युवकको खोजी तथा उद्धारका लागि व्यापक खोजतलास थालेको थियो । खोजी कार्यमा जिल्ला प्रहरी कार्यालय स्याङ्जा र सशस्त्र प्रहरी बल नेपाल, ३० नम्बर गुल्म वालिङबाट खटिएको संयुक्त टोली परिचालन भएको थियो । खोजतलासका क्रममा शुक्रबार दिउँसो पुतलीबजार नगरपालिका–१३ स्थित गैरीजागर क्षेत्रमा आँधीखोलाभित्र मगर मृत अवस्थामा फेला परेका प्रहरी नायव उपरीक्षक रमेश दत्त अवस्थीले बताए । मृतक मगरको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल स्याङ्जा पठाइएको छ ।

घटनाको प्रकृति, दुर्घटनाको कारण तथा अन्य आवश्यक विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । अविरल वर्षाका कारण खोलानाला तथा नदीमा पानीको बहाव बढिरहेको अवस्थामा यस्तो घटना भएको हो । सुरक्षाकर्मीले वर्षायाममा खोलानाला तथा नदी पार गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको र अनुसन्धानपछि घटनाको विस्तृत विवरण खुल्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन २९, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update