पाल्पा, जिल्लाको रामपुर नगरपालिकाले नगरभित्र सञ्चालित स्वास्थ्य सेवाको अवस्था, उपलब्धि र चुनौतीबारे वार्षिक समीक्षा गरेको छ । आर्थिक वर्ष २०८२/०८३ मा नगरपालिका स्वास्थ्य शाखाअन्तर्गतका १६ वटा स्वास्थ्य संस्था, रामपुर अस्पताल तथा स्वास्थ्य शाखाले सञ्चालन गरेका कार्यक्रम र प्रवाह गरेका स्वास्थ्य सेवाको समीक्षा गरिएको हो ।
समीक्षाका क्रममा स्वास्थ्य संस्थाको भौतिक अवस्था, पोषण कार्यक्रम, गर्भवती महिलाको स्वास्थ्य तथा पोषण, औषधिको उपलब्धता र वितरण, मातृ तथा नवशिशु स्वास्थ्य, ज्येष्ठ नागरिक तथा विद्यार्थीको स्वास्थ्य परीक्षणलगायत विषयमा छलफल गरिएको थियो । कार्यक्रममा सहभागी स्वास्थ्यकर्मी तथा सरोकारवालाले स्वास्थ्य संस्थाको भौतिक संरचनामा थप सुधार आवश्यक रहेको बताएका थिए । त्यसैगरी आरडिटी किटको अभावका कारण बिरामीको परीक्षणमा समस्या हुने गरेको भन्दै आवश्यक किटको उपलब्धता सहज बनाउनुपर्नेमा उनीहरूले जोड दिएका थिए ।

नगर प्रमुख रमणबहादुर थापाले स्वास्थ्य सेवामा भौतिक संरचनाको विकाससँगै सेवाको गुणस्तरलाई प्राथमिकता दिनुपर्ने बताए । परिणाममुखीभन्दा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा ध्यान दिन आग्रह गर्दै उनले स्वास्थ्यकर्मीलाई लगनशील भएर नागरिकको मन जित्ने गरी सेवा प्रदान गर्न निर्देशन दिए । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुकप्रसाद पोखरेलले स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीले नागरिकको आवश्यकता पहिचान गरी सोहीअनुसार सेवा प्रवाह गर्नुपर्ने बताए । निमित्त प्रमुख प्रशासकीय अधिकृत चेमनप्रकाश पोखरेलले आधारभूत स्वास्थ्य सेवामा विशेष ध्यान दिँदै स्वास्थ्यका सूचक पूरा हुने गरी काम गर्नुपर्ने बताए । स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा रामपुर नगरपालिका स्वास्थ्य शाखाअन्तर्गतका स्वास्थ्य संस्थाबाट २४ हजार १ सय ३५ जनाले स्वास्थ्य जाँच तथा उपचार सेवा लिएका छन् । सो अवधिमा २ सय २७ जनाले संस्थागत सुत्केरी सेवा लिएका छन् ।
त्यस्तै, मेरुदण्ड पक्षघातका ४ जना, मिर्गौला डायलासिस गराइरहेका २५ जना र क्यान्सरका ७९ जना गरी १ सय ८ जनालाई मासिक ५ हजार रुपैयाँका दरले नियमित औषधि तथा उपचार खर्च उपलब्ध गराइएको घिमिरेले जानकारी दिए । स्वास्थ्य शाखाले सोही अवधिमा ३ हजार ९ सय ९५ जनाको नसर्ने रोगसम्बन्धी स्क्रिनिङ गरेको छ । विभिन्न विद्यालयमा १ हजार १ सय ८८ जना विद्यार्थीको रक्तअल्पता परीक्षण तथा ४ सय ९९ जना महिलाको पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ सेवा पनि प्रदान गरिएको उनले बताए । नर्सिङ अधिकृत पुनम धितालको सञ्चालनमा कार्यक्रम भएको हो ।


