अवरुद्ध सिद्धार्थ राजमार्ग खुल्यो
पाल्पा, करिब ४ घण्टादेखि अवरुद्ध सिद्धार्थ राजमार्ग खुलेको छ । बुधबार राती परेको अविरल वर्षाका कारण अवरुद्ध सडक विहीबार दिउँसो ३ बजेदेखि एकतर्फी सञ्चालनमा आएको हो ।
तानसेन– बुटवल सडक खण्डको गौडे पुल निजकै खसेको सुक्खा पहिरोले अवरुद्ध राजमार्गको पहिरो पन्छाएर एकतर्फी सवारी साधन सञ्चालन ल्याइएको जिल्ला ट्राफिक कार्यालय पाल्पाले जनाएको छ । सडकको माथिबाट ढुंगासहितको पहिरोले राजमार्ग अवरुद्ध भएको थियो ।
राजमार्गमा लामोसमयदेखि रोकिएका सवारी साधनलाई गन्तव्यमा पठाएपछि दुईतर्फी यातायात सञ्चालन गरिने प्रहरीले जनाएको छ । सडक डिभिजन पाल्पाको एक्स्काभेटरले पहिरो पन्छाएर सडक सुचारु गरिएको हो । सडक अवरुद्ध भएपछि बुटवलबाट पाल्पा आएका र पाल्पाबाट बुटवल हिडेका हजारौँ सवारीसाधन बिचैमा अलपत्र परेका थिए ।
प्रकाशित मिति: बिहीबार, साउन २१, २०८३
प्रतिक्रिया दिनुहोस्


