तानसेन, तानसेनस्थित मिलेनियम सेकेन्डरी स्कुल प्रा.लि.ले स्कुलमा अध्ययनरत छात्राको मृत्यु भएपछि २ दिन शोक बिदा दिएको छ । एल के.जी.मा अध्ययनरत विद्यार्थी साजुदा वानुको आगलागीका कारण भएको दुःखद निधनप्रति गहिरो दुःख व्यक्त गर्दै स्कुलले दुई दिन शोक बिदा दिएको हो ।
गत साउन ७ गते खाजा खाने क्रममा स्कुलकै चमेना गृहको ग्यास पाइपबाट ग्यास चुइएर आगलागीमा परेपछि वानु घाइते भएकी थिइन् । उनलाई तत्काल तानसेनको युनाइटेड मिसन अस्पतालमा उपचारका लागि लगिएकोमा प्राथमिक उपचार पछि हेलीकप्टरबाट ललितपुरको वर्न अस्पतालमा थप उपचारको लागि लगिएको थियो । उपचारको क्रममा उनको अस्पतालमै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । खाजा खाने क्रममा वानुसहित ४ जना बालिकाहरू ग्यासको लप्काबाट पोलिएका थिए । उनीहरु सामन्य नै छन् ।
स्कुलका अध्यक्ष केशवराज शर्माले बुधबार विज्ञप्ति निकालेर दुखद् घटनामा परी वानुको निधन भएपछि दुखको क्षणमा शोक बिदा गर्नुपरेको उल्लेख गरेका छन् । शोक सूचना अनुसार उक्त घटनाले स्कुलका सम्पूर्ण परिवारलाई मर्माहत र स्तब्ध बनाएको जनाएको छ । स्कुलले स्वर्गीय विद्यार्थीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।व्यवस्थापन समितिका अनुसार साउन २१ र २२ गते विद्यालयमा शोक बिदा रहनेछ । स्कुलले साउन २५ गते सोमबारदेखि नियमित रूपमा विद्यालय सञ्चालन हुने पनि सूचनामार्फत जनाएको छ ।


