पाल्पा, पाल्पा, गुल्मीसहित पहाडका बारीहरूमा कुनै समय हरियाली छर्दै लहलहाउने कोदो अहिले विस्तारै ओझेल पर्दै गएको छ । बिहान बारीतिर जाँदा कोदोका बाला हावासँगै लहराइरहेको दृश्य ग्रामीण जीवनको परिचय मानिन्थ्यो ।
घर–घरमा कोदोको ढिँडो, रोटी, खोले र जाँड दैनिक जीवनको हिस्सा हुन्थे । तर समयसँगै अहिले कोदो खेती हराँदै गएको छ । तर विडम्बना के छ भने, उत्पादन घटिरहेका बेला बजारमा कोदोको माग भने निरन्तर बढिरहेको छ । स्वास्थ्यप्रति बढ्दो सचेतना, पोषणयुक्त खानाप्रतिको आकर्षण र जैविक उत्पादनको खोजीले कोदोलाई फेरि चर्चामा ल्याएको छ । कोदोमा क्याल्सियम, आइरन, फाइबर र विभिन्न खनिज तत्व प्रशस्त पाइने भएकाले यसलाई पोषणयुक्त खाद्यान्नका रूपमा लिइन्छ । मधुमेह नियन्त्रण, तौल व्यवस्थापन तथा हड्डी बलियो बनाउन समेत कोदो उपयोगी मानिन्छ । यही कारण पछिल्ला वर्षहरूमा शहरका सुपरमार्केट, अर्गानिक पसल र होटल–रेस्टुरेन्टमा भने पहिलेभन्दा बढी खोजिन थालेको छ । तर माग बढे पनि उत्पादन भने घट्दो क्रममा छ ।
कृषि क्षेत्रमा युवाको घट्दो आकर्षण, गाउँबाट बसाइँसराइ, खेतीयोग्य जमिन बाँझो रहनु, आधुनिक तथा नगदे बालीतर्फ किसानको आकर्षण र कोदो खेतीलाई पर्याप्त सरकारी प्राथमिकता नपुग्नु यसको प्रमुख कारण हुन् । कोदो खेतीमा धेरै मेहनत र लगानीको आवश्यकता भएका कारणले पाल्पा र गुल्मीका धेरै किसानले कोदो खेती छाड्दै गएको पाइन्छ । यहाँका कृषकहरू कोदो छोडेर अहिले नगदेबाली खुर्सानी, आलु, अदुवा, बेसार र तरकारी खेतीतर्फ आकर्षित भएका छन् । जसले गर्दा कोदो जस्ता परम्परागत बाली लोप हुँदै गएका हुन् । एक दशक अघि साउन–भदौमा कोदो रोप्ने काम धमाधम हुन्थ्यो । माथागढी गाउँपालिका देउगीरकी सुकमाया सारुले भनिन् , “अर्मपर्म गर्दै एक डेढ महिनासम्म गाउँभरि कोदो रोपिन्थ्यो ।
आजकाल त कोदो रोप्न छाडियो ।” कोदोबाट भन्दा अदुवा, बेसार, अकबरे, आलु लगायतका कृषि उपजबाट राम्रो आम्दानी हुने भएपछि कोदो खेती छोड्दै गएको उनको भनाई छ । “कसै–कसैले घरमा जाँड बनाउन, पूजा गर्न भनेर अलिअलि लगाए पनि बिक्री गर्ने उद्देश्यले खेती हुन छोडेको छ” सारुले भनिन्, “पैले–पैले हाम्रै गाउँभरि कोदो हुन्थ्यो । अहिले बारीमा कतै अदुवा, कतै बेसार, अलैँची भरिएको छ । कोदोबाट नगद आम्दानी छैन । बरु अकबरेको व्यावसायिक खेती गर्छौ, तर कोदो लगाउँदैनौं ।” गुल्मीको इस्मा गाउँपालिका २ हस्तिचौरकी मिना थापाको बारीमा झण्डै तीन मुरी कोदो फल्थ्यो । काम गर्ने समस्या भएपछि पछिल्ला वर्षमा कोदो लगाउन उनले पनि छोडेकी छन् ।
कोदो हुने बारीमा अहिले फलफूल लगाउने गरिएको छ । परम्परागत शैलीमा स्थानीय जातको विउ प्रयोग गरी मकैमा घुसुवा बालीका रुपमा लगाइने कोदो प्रायः जसो जिल्लाका सबै गाउँ वस्तीमा हुन्थ्यो तर आजभोली सबै हराए । उनले कोदो खेती गर्दै आएको जग्गा बोकेझारले भरिएको छ । छोराहरू जागिरको सिलसिलामा सहरमा भएकाले घरमा काम गर्ने मान्छे नभएको थापाले बताइन् । केही वर्षअघिसम्म पनि पाल्पको बगनासकाली, रैनादेवी छहरा, रिब्दीकोट माथागढी, निस्दी, पूर्वखोला, रम्भा, तिनाउ र गुल्मीका अधिकांस पालिकाहरुमा अन्य किसानहरुको मुख्य बाली कोदो थियो ।
युवाहरु विदेश र शहरतिर, गाउँमा बूढाबूढी र केटाकेटी मात्र हुँदा पनि खेती गर्नेको संख्या हरेक वर्ष घट्दो छ । कोदो उत्पादन घट्दै गए पनि यहाँका स्थानीय सरकारले प्रवद्र्धनमा खासै चासो देखाएका छैनन् । हरेक वर्षका नीति तथा कार्यक्रममा स्थानीय सरकारले रैथाने बाली संरक्षण तथा प्रवद्र्धन गर्ने उल्लेख गरे पनि बजेट विनियोजनमा कन्जुस्याई गरेका छन् । पाल्पामा हरेक वर्ष कोदो खेती गर्ने क्षेत्रफल घट्दै गएको छ । यहाँको तीन वर्षको तथ्याड्ढ हेर्ने हो भने पनि कोदो खेती गर्ने क्षेत्रफल घट्दै गएको पाइन्छ ।
यहाँ आर्थिक वर्ष २०८०/०८१ मा २ हजार ३ सय ६३ हेक्टर क्षेत्रफलमा कोदो खेती भएको थियो । जुन आर्थिक वर्ष २०८१/०८२ मा आएर २ हजार ३ सय ४९ हेक्टर र आर्थिक वर्ष २०८२/०८३ मा २ हजार ३ सय ३८ हेक्टर क्षेत्रफलमा झरेको कृषि ज्ञान केन्द्र पाल्पाका प्राविधिक सुरज पाण्डेयले बताए । उनका अनुसार कृषकहरु सुन्तला जातका फलफूलतर्फ आकर्षित हुँदै गएपछि कोदो खेती हुने क्षेत्रफल घट्दै गएको हो । कोदो हुने बारीमा अहिले फलफूल लगाउने गरिएको छ ।


