Shittalpati
रामपुरमा सार्वजनिक सुनुवाइ : विकास निर्माणका लागि सहकार्यमा जोड

पाल्पा, जिल्लाको रामपुर नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको छ । कार्यक्रममा गत आर्थिक वर्षको प्रगति, बजेट कार्यान्वयन, सेवा प्रवाह तथा नगरवासीका गुनासा र सुझावमाथि छलफल गरिएको थियो ।
    
कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले विकास निर्माणका कामलाई प्रभावकारी बनाउन स्थानीय तह, सरोकारवाला निकाय र निर्माण व्यवसायीबीच सहकार्य र समन्वय आवश्यक रहेको बताए । उनले नदीजन्य पदार्थको उत्खनन कानुन र मापदण्डअनुसार गर्न तथा निर्माण कार्यको नियमित अनुगमन गर्नुपर्नेमा जोड दिए । सहभागीका जिज्ञासाको जवाफ दिँदै नगर प्रमुख रमण बहादुर थापाले सीमित स्रोत–साधनका बाबजुद नगरमा विकास निर्माणका कामले गति लिएको बताए ।

उनले १० वटै वडामा समानुपातिक रूपमा विकास योजना सञ्चालन भइरहेको उल्लेख गर्दै फोहोर व्यवस्थापन नगरको प्रमुख चुनौतीका रूपमा रहेको र त्यसको समाधानका लागि निरन्तर प्रयास भइरहेको जानकारी दिए । विकास आयोजना गुणस्तरीय र समयमै सम्पन्न गर्न सबै पक्षको सहयोग र निगरानी आवश्यक रहेको उनको भनाइ थियो । प्रमुख प्रशासकीय अधिकृत सूर्यदर्शन पण्डितले प्रस्तुत गरेको प्रगति प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/०८३ मा विनियोजित ८२ करोड ५१ लाख ३० हजार ६२१ रुपैयाँमध्ये ६८ करोड ९८ लाख २३ हजार ४४३ रुपैयाँ खर्च भएको छ । 

नगरपालिकाले सञ्चालन गरेका ६९७ योजनामध्ये ६६४ वटा योजना सम्पन्न भएका छन् । सार्वजनिक सुनुवाइमा नेपाली काँग्रेस रामपुरका सभापति नेत्र प्रसाद भट्टराई, नेकपा (एमाले) रामपुर नगर उपाध्यक्ष विशाल श्रेष्ठ (अशोक),  राष्ट्रिय स्वतन्त्र पार्टी रामपुरका अध्यक्ष बुद्धिप्रकाश रेग्मी, नगर सल्लाहाकार अर्जुन प्रसाद श्रेष्ठ, स्थानीयहरु अर्जुनजंग श्रेष्ठ, रुविया खातुन, लोकनाथ भट्टराई, सन्देश ढकाल, प्रेमप्रकाश श्रेष्ठ, गोविन्दप्रसाद भट्टराई, सम्सुल हक मियाँ, देवबहादुर घर्ती, दामोदर कँडेल, टीका सुनार, रविन भण्डारी, समीर पौडेल, मोनिका माझी, नारायणप्रसाद ढकाल तथा अटो व्यवसायी संघका अध्यक्ष चन्द्रबहादुर थापालगायतले स्वास्थ्य सेवा, शिक्षा, कृषि, नदीजन्य पदार्थ उत्खनन, क्रसर सञ्चालन, फोहोर व्यवस्थापन, सडक स्तरोन्नति, पार्किङ, सार्वजनिक यातायात, विशेष नापी, खेलकुद, ऐतिहासिक सम्पदाको संरक्षण तथा बजेट कार्यान्वयनलगायत विषयमा सुझाव र जिज्ञासा राखेका थिए ।

उपप्रमुख बालकुमारी थापाले नागरिकका सुझावलाई प्राथमिकताका साथ कार्यान्वयन गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरिन् । उनले सार्वजनिक सुनुवाइजस्ता कार्यक्रमले स्थानीय सरकारलाई पारदर्शी, उत्तरदायी र जनउत्तरदायी बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताइन् । रामपुर नगरपालिकाको आयोजनामा भएको कार्यक्रम सीताकुण्ड मिडिया प्रालिले सहजीकरण गरेको हो । नगर प्रवक्ता कपिल बहादुर खाँणले धन्यवाद ज्ञापन पत्रकार माधव अर्यालको सहजीकरणमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बुधबार, साउन २०, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update