Shittalpati
स्क्रब टाइफसबाट गुल्मीकी ३२ वर्षीया महिलाको मृत्यु

गुल्मी, गुल्मीमा स्क्रब टाइफस संक्रमणबाट ३२ वर्षीया एक महिलाको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका–४, जैसिथोक निवासी सीता पोखरेलको उपचारका क्रममा मृत्यु भएको हो ।
    
पोखरेल गत साउन १४ गते किराले टोकेपछि अस्वस्थ भई उपचारका लागि गुल्मी अस्पताल पुगेकी थिइन् । स्वास्थ्य परीक्षणका क्रममा उनलाई स्क्रब टाइफस संक्रमण भएको पुष्टि भएको अस्पतालले जनाएको छ । तर, त्यतिबेला गम्भीर लक्षण वा अन्य जटिलता नदेखिएकाले सामान्य उपचारपछि डिस्चार्ज गरिएको थियो । त्यसपछि उनी साउन १५ गते पुनः अस्पताल पुगेकी थिइन् । त्यसबेला पनि स्वास्थ्य अवस्था सामान्य देखिएकाले आवश्यक औषधि दिएर घर पठाइएको थियो । तर स्वास्थ्यमा अपेक्षित सुधार नआउँदै साउन १८ गते बिहान उनी घरमै अचानक बेहोस भएकी थिइन् । तत्काल उपचारका लागि पुनः गुल्मी अस्पताल ल्याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माका अनुसार घटनाबारे आवश्यक जानकारी संकलन गरिएको छ ।
    
घटनापछि मृतकका आफन्तले सुरुवातमै अस्पतालले भर्ना गरेर उपचार नगरेकाले यस्तो अवस्था आएको भन्दै आक्रोश व्यक्त गरेका थिए । यता अस्पताल प्रशासनले भने स्क्रब टाइफस पुष्टि भए पनि त्यतिबेला बिरामीमा गम्भीर लक्षण वा जटिल अवस्था नदेखिएकाले चिकित्सकीय मूल्याङ्कनका आधारमा भर्ना नगरी औषधिसहित घर पठाइएको स्पष्ट पारेको छ । मृतकको शव पोस्टमार्टमपश्चात सोमबार आफन्तलाई बुझाइ अन्त्येष्टिका लागि लगिएको प्रहरीले जनाएको छ । वर्षायामसँगै स्क्रब टाइफसका बिरामी बढ्न थालेकाले स्वास्थ्यकर्मीले ज्वरो, टाउको दुख्ने, शरीर दुख्ने, अत्यधिक कमजोरी तथा किराले टोकेको आशंका भएमा ढिलाइ नगरी स्वास्थ्य संस्थामा परीक्षण र उपचार गराउन सर्वसाधारणलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति: बुधबार, साउन २०, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update