Shittalpati
श्रीनगर यातायातको अध्यक्षमा पुनः ढुंगाना

पाल्पा, श्रीनगर यातायात सेवा कम्पनी प्रालिको अध्यक्षमा पुनः दिलबहादुर ढुंगाना क्षेत्री निर्विरोध निर्वाचित भएका छन् । आइतबार भएको कम्पनीको दोस्रो अधिवेशन तथा आठौं वार्षिक साधारण सभाबाट निर्वाचित भएको सञ्चालक समितिको पहिलो बैंठकले ढुंगानालाई सर्वसम्मत रूपमा पुनः अध्यक्षको जिम्मेवारी दिएको हो ।

यातायात व्यवसायको विकास, संस्थागत सुशासन, व्यवसायीबीच सहकार्यको वातावरण निर्माण तथा सेवाग्राहीमैत्री सेवा विस्तारमा उनले निर्वाह गरेको सक्रिय र इमान्दार नेतृत्वका कारण पुनः अध्यक्षको जिम्मेवारी पाएको व्यवसायीहरूले बताएका छन् । अध्यक्ष ढुंगानाले विगत कार्यकालमा कम्पनीको संस्थागत सुदृढीकरण, व्यवसायीहरूको हित संरक्षण र यात्रुलाई सुरक्षित तथा भरपर्दो सेवा उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राख्दै काम गरेका कारण उनीप्रति व्यवसायीहरूको विश्वास अझ बलियो बनेको जनाइएको छ ।

निर्वाचन समितिले सार्वजनिक गरेको  अन्तिम परिणामअनुसार तोकिएको समयभित्र उम्मेदवारीविरुद्ध कुनै पनि उजुरी वा विरोध नपरेकाले सबै उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । सार्वजनिक नतिजाअनुसार सञ्चालक पदमा दिलबहादुर ढुंगाना, बासुदेव खड्का, दीपक कुमार श्रेष्ठ, किरण कुमार चित्रकार, टोपराज बराल, सुनिल केसी, लक्ष्मण पाण्डे, ईश्वरीप्रसाद श्रेष्ठ र मिलन पुकार बस्नेत निर्वाचित भएका छन् । त्यसैगरी संयोजक पदमा यमलाल श्रेष्ठ, शर्मा प्रसाद श्रेष्ठ, विष्णु बहादुर ढुंगाना, थानेश्वर पाठक, धु्रर्व सिं खड्का, मञ्जुल खड्का, भोजबहादुर राना र प्रकाश कार्की निर्विरोध निर्वाचित भएका छन् ।

रुट सदस्यतर्फ बताँसे उत्तर–पश्चिम क्षेत्रबाट रामबहादुर कार्की, आर्यभञ्ज्याङ् पूर्व–दक्षिण क्षेत्रबाट हिमनारायण श्रेष्ठ, बास्टाँरी दक्षिणपूर्व क्षेत्रबाट नविन पराजुली,चिलाङ्दी दक्षिणपूर्व क्षेत्रका हरि बस्याल, तथा केन्द्रबाट दीपक न्यौपाने निर्वाचित भएका छन् । केही आरक्षित पदमा भने मनोनयन दर्ता नभएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका अनुसार कम्पनीको निर्वाचन कार्यविधिअनुसार सम्पूर्ण प्रक्रिया पूरा गरी अन्तिम नतिजा सार्वजनिक गरिएको हो ।                            

नवनिर्वाचित अध्यक्ष ढुंगानाले कम्पनीप्रति व्यवसायीले देखाएको विश्वासप्रति आभार व्यक्त गर्दै आगामी कार्यकालमा संस्थालाई अझ पारदर्शी, व्यवस्थित र सेवामुखी बनाउँदै व्यवसायीहरूको हकहित संरक्षण तथा गुणस्तरीय यातायात सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, साउन १९, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update