Shittalpati
नेकपामा स्वार्थको झगडा

देशमा कोरोना महामारीको कहर छ । यता बहुमत प्राप्त दल नेकपा भित्र भने स्वार्थको झगडा भइरहेको छ । हुन त यो नौलो भने होइन । नेकपाभित्र बेला–बेलामा स्वार्थका झगडाहरु भइनै रहन्छन् । केही दिन अघिदेखि नेकपा भित्रबाटै पाटी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग गरिएको छ । बहुमत प्राप्त सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री ओली स्वेच्छाचारी ढंगले अघि बढ्न खोजेपछि पार्टीको मुख्य कमाण्ड मानिने सचिवालयका पाँच प्रमुख नेताहरूले स्थायी कमिटी बैठकमै उनको राजीनामा माग भएको छ । उनीहरुले पार्टी र सरकार दुवैबाट ओलीको राजीनामा मागेका छन् । ओलीको दोस्रो पटकको सत्तारोहणपछि पार्टीभित्रबाट सबै मुख्य नेताहरूले संगठित रूपमै उनलाई एकैस्वरमा पदबाट हट्न भनेको यो पहिलो पटक हो । यसअघिसमेत उनीहरूले राजीनामा मागेका भए पनि यो स्तरको संगठित शैलीमा ओली विरुद्ध प्रस्तुत भएका थिएनन् । यतिबेला राजनैतिक दल र सरकार कोभिड—१९ को संक्रमण र प्राकृतिक प्रकोप व्यवस्थापनमा एक जुट हुनुपर्ने हो, तर त्यसो हुन सकेको छैन । यस्तो अवस्थामा राजनीतिक दल र सरकार युद्वस्तरमा समस्या समाधानमा लाग्न जरुरी छ ।

कोभिड—१९ को संक्रमणबाट परेको आर्थिक सामाजिक प्रभाव न्यून गरेर जनजीवन कम्तीमा पहिलेकै अवस्थामा फर्काउन सरकारले विशेष निर्णय लिनु पथ्र्यो । सलहको प्रकोप पीडितहरूका लागि सहायताको घोषणा गर्नुपथ्र्यो । दुर्भाग्य, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरूबीचको झगडाले सिंगो सरकार नै निरिह बनेको छ । सत्तारुढ दलका नेताहरूको झगडा भने जनताका कुनै माग वा मर्काका विषयमा भएको होइन । भएको छ त केवल व्यक्तिगत स्वार्थका लागि मात्र । यसो हुनु आफैमा दुःखद् हो । अघिल्ला पटकहरूजस्तै अहिले पनि सत्ताका केही लाभहरू लिनेदिने गरेर विवाद फास्स न फुस्स पनि हुनसक्छ । नभए पार्टीको सचिवालय र स्थायी कमिटीमा लगभग एक्लिएका प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओलीलाई पदबाट हटाउने निर्णय पनि हुनसक्छ । प्रधानमन्त्री ओली स्वयं एउटा पद छाडेर अर्को जोगाउन तयार पनि हुनसक्छन् । तर, जे गरे पनि अहिलेको नेकपाका नेताहरूको क्रियाकलापको औचित्य भने सिद्ध हुन सक्दैन । यो स्वार्थको लडाइले कसैको पनि हित हुने देखिदैन ।

प्रकाशित मिति: शुक्रबार, असार १९, २०७७  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update