पाल्पा, पाल्पामा ३ सय ५४ जना एचआइभी संक्रमितले नियमित औषधि सेवन गरिरहेका छन् । हालसम्म देखिएका ८ सय ४२ जना संक्रमित मध्ये ३ सय ५४ जनाले नियमित औषधि सेवन गर्दै आएका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । विभिन्न कारणले एचआइभी संक्रमित भएकाहरूले पाल्पा अस्पताल र रामपुर अस्पतालका एआरटी सेन्टरबाट नियमित औषधि सेवन गर्ने गरेका हुन् । औषधि सेवन गर्नेमध्ये १२ जना बालबालिका रहेका छन् । गत आर्थिक वर्ष ५ जनाको एचआइभी संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयले संक्रमितहरुमा सचेतना फैलाउन शुक्रबार जनप्रतिनिधी, पत्रकार, प्रहरी र एचआईभी संक्रमित तथा जोखिम समुहबिच अभिमुखीकरण कार्यक्रम गरेको छ । कार्यक्रममा सहभागीहरुले एचआइभी संक्रमित व्यक्तिले नियमित रूपमा चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्नुपर्नेमा जोड दिएका छन् । समयमै र निरन्तर औषधि सेवन गर्दा भाइरसको प्रभाव नियन्त्रणमा रहने, रोग प्रतिरोधात्मक क्षमता सुदृढ हुने तथा स्वस्थ जीवनयापन गर्न सहज हुने उनीहरूको भनाइ छ । एचआइभी संक्रमण भएका व्यक्तिले एन्टिरिट्रोभाइरल थेरापी (एआरटी) नियमित रूपमा सेवन गरेमा शरीरमा भाइरसको मात्रा न्यून रहने उनीहरुको भनाई छ । सरोकारवालाहरुले औषधि सेवनमा लापरबाही गर्दा उपचारको प्रभावकारिता घट्न सक्ने र स्वास्थ्य अवस्था जटिल बन्न सक्नेतर्फ सचेत गराएका छन् । उनीहरूले संक्रमित व्यक्तिलाई नियमित स्वास्थ्य परीक्षण गराउन, सन्तुलित आहार लिन र स्वस्थ जीवनशैली अपनाउन पनि सुझाव दिए । कार्यक्रममा सहभागीहरूले एचआइभी सम्बन्धी भ्रम र विभेद अन्त्य गर्न समाजका सबै पक्षले सहयोग गर्नुपर्ने आवश्यकता औंल्याए । नियमित औषधि खाँदा संक्रमण फैलन नसक्ने स्वास्थ्य कार्यालय पाल्पाका क्षपकुष्ट अधिकृत विश्वनाथ न्यौपानेले बताए । उनले एचआईभी एड्स बाहिरी वातावरणमा २३ सेकेण्ड मात्र बाँच्न सक्ने हँुदा सुरक्षित रुपबाट कण्डमको प्रयोग गर्दा यो रोग सर्न नसक्ने समेत बताए ।
नेपाल परिवार नियोजन संघ पाल्पाका प्रबन्धक शोवाकान्त न्यौपानेले एचआईभी रोग लागेका व्यक्तिले नकारात्मक सोच राख्न नहुने साथै उनीहरुलाई सेवा, शिक्षा स्वास्थ्य र रोजगारबाट बञ्चित गराउनु अपराध रहेको बताए । उनले संक्रमितलाई लाञ्छना र भेदभाव गर्न नहुने पनि बताए । प्रतिबद्ध समुहकी प्रबन्धक अस्मिता भण्डारीले एचआईभी संक्रमितलाई आफ्नो संस्थाले सहयोग गर्दै आएको बताइन् । उनले संक्रमित युक्त समाजको भय र त्रासले खुल्न नसकेका कारण जोखिममा बाँच्न परेको उल्लेख गरिन् । कार्यक्रममा स्वास्थ्य कार्यालयका निमित्त प्रमुख टुक प्रसाद पोखरेलले एचआईभी अन्य रोग भन्दा सामान्य हँुदै गएको र जनचेतना अभिवृद्धिका कारण यो रोगबाट संक्रमितको सङ्ख्या घट्दै गएको बताए । उनले अझै पनि यो रोग लागेका मानिसलाई भेदभाव दृष्टिले हेर्ने गरेका कारण कतिपय खुलेर औषधी सेवन गर्न डराएको बताए । नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले सञ्चार माध्यमबाट यस रोगबारे प्रचार–प्रसार गरेका कारण जनचेतना बढेको बताए । उनले छुवाछुत प्रथा जस्तै एचआईभी संक्रमितलाई पनि समाजले हेर्ने दृष्टिकोण सकारात्मक बन्दै गएको धारणा व्यक्त गरे ।


