Shittalpati
पिसिआर मेसिन राख्ने जग्गाका विषयमा छलफल

पाल्पा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाल्पामा कोरोना भाइरस (कोभिड–१९)को पिसिआर नमूना परीक्षणको लागि अनुमति दिएसँगै पिसिआर मेसिन राख्ने विषयमा छफल भएको छ । आइतबार संघीय सांसद, प्रदेश सांसद, जिल्लाका राजनीतिक दल, जनप्रतिनिधि, स्वास्थ्य संस्थाका प्रमुखहरु बिच पिसिआर मेसिन राख्ने उपयुक्त जग्गाको विषयमा छलफल भएको हो । सरकारले पाल्पा अस्पताल मातहतमा रहने गरी स्विकृत दिएपनि जग्गा पार्याप्त मात्रमा नहुँदा अस्पताल परिषरमा राख्ने वा अन्य कुनै उपयुक्त स्थानमा राख्ने भन्ने विषयमा जिल्ला प्रशासनमा छलफल चलेको थियो । छलफलमा संघीय सांसद तथा पूर्व उद्योग मन्त्री सोमप्रसाद पाण्डेले जिल्लामा संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै जाँदा परीक्षणका लागि पिसिआर मेसिन राख्न स्विकृत पाउनु जिल्लावासीका लागि खुसी र अवसर रहेको बताए । उनले सर्वपक्षीय छलफलबाट जग्गाको निक्यौल गरी प्राविधि टोलीमार्फत उपयुक्त स्थान छनोट गरिने बताए ।

प्रदेश सांसद वीरबहादुर रानाले पिसिआर मेसिन सञ्चालनमा ल्याउने कुरा सबैको चासो र अवसरको विषय बनेको बताए । उनले जग्गा छनोट समिति गठन गरी उक्त समितिबाट छनोट भएको जग्गा प्राविधिकमार्फत जाँच गरी पिसिआर मेसिन ल्याइने बताए । छलफलमा आवश्यक पूर्वधार निर्माणका लागि स्थानीय सरकार, स्वास्थ्य संस्थाहरु तयार रहेको स्थानीय सरकार र स्वास्थ्य संस्थाका प्रमुखहरुले बताएका छन् ।

छलफलमा जग्गा छनोट समिति गठन गरिएको छ । पाल्पा अस्पतालका अध्यक्ष नेत्र प्रसाद पाण्डेको अध्यक्षतामा पाँच सदस्यी समिति गठन भएको हो । सदस्यहरुमा तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाही, बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्याल, रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण जिसी र सदस्य सचिव जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वनाथ न्यौपाने रहेका छन् । उनीहरु आइतबार नै जग्गाको खोजीमा लागेका छन् । सरकारले शुक्रबार पाल्पा सहित थप १० अस्पताललाई पिसिआर मेसिन सञ्चालनमा ल्याउन अनुमति दिएको थियो । यसअघि सातै प्रदेशका २३ अस्पतालमा आरटी पिसिआर विधिबाट स्वाब परीक्षण प्रयोगशाला सञ्चालन भइरहेका थिए । पाल्पामा पिसिआर मेसिन सञ्चालनमा ल्याइने भएपछि गुल्मी, पाल्पामा संकलन भएका स्वावहरु परीक्षणमा सहज हुने छ ।

स्वास्थ्य सामग्री हस्तान्तरण

संघीय सासंद तथा पूर्व उद्योग मन्त्री सोमप्रसाद पाण्डेले जिल्लाका लागि स्वास्थ्य सामग्री वितरण गरेका छन् । उनले संघीय सरकारमार्फत प्राप्त भएको स्वास्थ्य सामग्री जिल्ला स्वास्थ्य कार्यालयलाई हस्तान्तरण गरेका छन् । सांसद पाण्डेले स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वनाथ न्यौपानेलाई स्वास्थ्य सामग्री सेनिटाइजर हस्तान्तरण गरेका थिए ।

प्रकाशित मिति: आइतबार, असार १४, २०७७  १८:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update