Shittalpati
पाल्पामा शव व्यवस्थापनमा खटिएका दुई जनामा संक्रमण

पाल्पा । जिल्लामा कोरोनाका कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा खटिएका दुई जनामा कोरोना संक्रमण देखिएको छ । गत जेठ २० गते पूर्वखोला गाउँपालिका सिलुवाका कोरोना संक्रमणबाट मुत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा खटिएका नेपाली सेना गोरखदल गणका दुई जना सेनामा संक्रमण देखिएको हो ।

शुक्रबार तानसेनमा देखिएका दुई जना संक्रमितको ठेगना गोप्पे राखिए पछि चौतर्फी आलोचना भएको थियो । चौतर्फिक आलोचना भएपछि शनिबार मात्र स्वास्थ्य कार्यालयले उक्त दुई जनाको ठेगना सार्वजनिक गरेको पाइएको छ । मृतक कोरोना संक्रमित व्यक्तिको शव व्यवस्थापनमा खटिएका ३३ र ३६ वर्षका सेनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

भारतबाट फर्किएका पूर्वखोला गाउँपालिका वडा नं. १ सिलुवाका ३६ वर्षका युवाको कोरोनाको कारणले मिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । ती युवाको शव व्यवस्थापनमा खटेका दुई जना सेनामा कोरोना पुष्टि भएको हो । गोरखदल गणका मेजर मनोज डंगोलले शव व्यवस्थापनमा खटिएका दुई जनामा संक्रमण देखिएको बताए । उनले संक्रमण देखिएकालाई शव व्यवस्थापनमा खटिएको दिनदेखी नै आईसोलेसनमा राखिएको जानकारी दिए । उनीहरु दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको मेजर डंगोलले बताए ।

प्रकाशित मिति: शनिबार, असार १३, २०७७  १४:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update