पाल्पा,प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि आज देशैभर मतदान हुँदैछ । बिहान ७ बजेदेखि सुरु हुने मतदानका लागि मतदाताहरु आ–आफ्नो मतदानस्थल र केन्द्रमा जानेक्रम शुरु भइसकेको छ ।
बिहान सात बजेदखि साँझ पाँच बजेसम्मका लागि मतदानको समय तोकिएको छ । निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष हो । त्यसैले आजको दिन उत्सव पनि हो । निर्वाचनको यो महोत्सवमा भाग लिएर आफ्ना योग्य जनप्रतिनिधि छान्न मतदातालाई अपिल गरिएको छ । निर्वाचनको लागि सम्पूर्ण तयारी सकिएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार देशभरका २३ हजार १ सय १२ वटै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी खटिएका छन् ।मतदान केन्द्रमा पुगेका मतदान अधिकृतहरुले सूचना टाँस गर्नेदेखि लिएर आवश्यक सबै प्रशासनिक तयारी बुधबार नै सकिसकेका छन् ।मतदान गर्न जाँदा मतदाताले आफ्नो मतदाता परिचयपत्र लिएर जानुपर्ने आयोगले भनेको छ । मतदाता परिचयपत्र नभएको खण्डमा नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, चालक अनुमतिपत्र वा जग्गाधनी पुर्जा लिएर मतदान केन्द्रमा जान सकिने आयोगले जनाएको छ ।
आयोगले मतदानको दिनमा अत्यावश्यक सेवाका सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । एम्बुलेन्स, दमकल, शव वाहन, रक्तसञ्चार सेवाका साधन, सुरक्षा निकायका सवारीसाधन, विद्युत् / दूरसञ्चार मर्मत, खानेपानी तथा ढल मर्मत, कूटनीतिक नियोगका सवारीसाधनहरू र निर्वाचनको दिनमा प्रयोग गर्ने गरी पास प्राप्त गरेका सवारीसाधन र प्रेस पास भएका सञ्चारकर्मीहरुले प्रयोग गर्ने सवारी मात्र सञ्चालन गर्न पाइने भएको छ । अन्य सार्वजनिक तथा निजी सवारी साधनहरू बुधबार मध्यराति १२ बजेदेखि आज साँझ मतदान सम्पन्न नभएसम्मका लागि सञ्चालनमा रोक लगाइएको आयोगले गरेको छ । आज आन्तरिक उडानहरू भने नियमित रूपमा सञ्चालन हुने छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले एक सूचना जारी गर्दै मतदानका दिन देशभर आवश्यकताअनुसार सबै प्रकारका आन्तरिक उडानहरू सञ्चालन हुने प्रष्ट पारेको छ । प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्षतर्फ १ सय ६५ र समानुपातिकका १ सय १० गरी जम्मा २ सय ७५ सदस्य चयनका लागि मतदान हुँदैछ ।
निर्वाचनका लागि देशभर १० हजार ९ सय ६७ मतदानस्थल र २३ हजार १ सय १२ मतदान केन्द्र कायम गरिएको छ । २०७९ को निर्वाचनका बेलाभन्दा यस पटक ७५ मतदानस्थल तथा ८ सय ८५ मतदान केन्द्र बढाइएको आयोगले जनाएको छ । त्यतिबेला १० हजार ८ सय ९२ मतदानस्थल र २२ हजार २ सय २७ मतदान केन्द्र कायम थियो । निर्वाचन सुरक्षा योजनाका साथ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा निर्वाचन प्रहरी फिल्डमा परिचालित भइसकेका छन् । सबै गरेर ३ लाख ३९ हजार सुरक्षाकर्मी खटिएका छन् । त्यस्तै, २ लाख २२ हजार कर्मचारी खटिएको आयोगले जनाएको छ । एक हजारभन्दा कम मतदाता भएका मतदान केन्द्रमा ८ जना , हजारभन्दा बढी मतदाता रहेका केन्द्रमा ९ जना कर्मचारी खटाइएको छ ।


