Shittalpati
पाल्पामा पनि पिसिआर मेसिन सञ्चालनमा ल्याइने

पाल्पा । पाल्पामा पनि पीसीआर मेसिन सञ्चालनमा ल्याइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाल्पा अस्पताललाई कोरोना भाइरस (कोभिड–१९)को पिसिआर नमूना परीक्षणको लागि अनुमति दिएको छ । मन्त्रालयले शुक्रबार पाल्पा सहित थप १० अस्पताललाई पिसिआर मेसिन सञ्चालनमा ल्याउन अनुमति दिएको हो ।

मन्त्रालयले पाल्पामा पिसिआर मेसिन सञ्चालनका लागि स्विकृत दिएपछि पाल्पा क्षेत्र नम्वर २ का प्रतिनिधि सभाका सदस्य तथा पूर्व उद्योग मन्त्री सोमप्रसाद पाण्डेले सामाजिक सञ्जालमार्फत जिल्लाको मागलाई प्राथमिकता दिएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई धन्यवाद दिएका छन् । सांसद पाण्डेले सामाजिक सञ्जालमा भनेका छन् ‘पाल्पा अस्पतालको मातहतमा पिसिआर मेसिन स्थापना र सञ्चालन गर्ने अवसरले जिल्लावासीको परीक्षणमा सहजता हुने विश्वास लिएको छु ।’

यसअघि सातै प्रदेशका २३ अस्पतालमा आरटी पिसिआर विधिबाट स्वाब परीक्षण प्रयोगशाला सञ्चालन भइरहेका थिए । प्रयोगशाला सञ्चालन सम्बन्धी सूचना सार्वजनिक गर्दै मन्त्रालका डा. गुणराज लोहनीले शुक्रबार थप १० अस्पताललाई आरटी पिसिआर स्वाब परीक्षणको अनुमति दिइएको जानकारी दिएका हुन् । डा. लोहनीका अनुसार अब मेची अस्पताल, डडेलधुरा अस्पताल, दैलेख अस्पताल, राष्ट्रिय आर्युवेद अनुसन्धान तथा तालिम केन्द्र, सशस्त्र प्रहरी अस्पताल, पाल्पा अस्पताल, धौलागिरी अस्पताल, धनकुटा अस्पताल, वीरेन्द्र प्रहरी अस्पताल र नेपाली सेना अस्पतालमा प्रयोगशाला सञ्चालन गर्ने निर्णय भएको हो ।

प्रकाशित मिति: शुक्रबार, असार १२, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update