
पाल्पा । पछिल्लो समय जिल्लामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै जाँदा निको भएर घर फर्किनेहरुको संख्या पनि बढ्दै गएको छ । संक्रमितको संख्या बढ्दै जाँदा मानिसमा त्रास फैलिरहेको अवस्थामा संक्रमित निको भएर घर फर्कदा कोरोना भाइरस निको हुँदो रहेछन् भन्ने महसुश समेत भएको छ । बिहीबारमात्र रम्भा गाउँपालिकाका आठ जना र रिब्दीकोट गाउँपालिकाका एक जना संक्रमित निको भएर घर फर्किएका छन् । रम्भा गाउँपालिका हुँगीका एक महिलासहित ७ पुरुष जना लुम्बिनी मेडिकल कलेजबाट फर्किएका हुन् । रिब्दीकोट ठिमुरेका एक पुरुष पनि घर फर्केका हुन् ।
यो सँगै जिल्लामा कोरोना जितेर घर फर्किनेको संख्या १६ पुगेको छ । यस अघि रामपुर नगरपालिकाका २ जना निस्दी गाउँपालिकाका १ जना, रैनादेवी छहरा गाउँपालिकाका २ जना, पूर्वखोला गाउँपालिकाका १ जना र गुल्मीको रुरु गाउँपालिकाका १ जना निको भएर घर फर्किए सकेको जिल्ला स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन श्रीकृष्ण भट्टराईले जानकारी दिए । उनीहरु जिल्लाका विभिन्न आइसोलेशन सेन्टरमा बस्दै आएका थिए ।