Shittalpati
अर्घाखाँचीमा १५ जना चुनावी प्रतिस्पर्धामा

अर्घाखाँची, एकमात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँची जिल्लामा एक महिलासहित १५ जना चुनावी प्रतिस्प्रधामा छन् । विभिन्न पार्टीका १२ जना र तीन जना स्वतन्त्र गरी १५ जना प्रतिनिधिसभाको निर्वाचनका लागि चुनावी प्रतिस्प्रधामा रहेका मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेले जानकारी दिए ।

अर्घाखाँची जिल्लाका नेकपा एमाले, नेपाली कांग्रेस, रास्वपा र नेपाली कम्युनिष्ट पार्टी, नेकपाका उम्मेदवार जिल्लामै बसेर सङ्गठन निर्माण तथा विकास निर्माणका काम गरेका उम्मेदवार छन् । दलहरु घरदैलो तथा निर्वाचन केन्द्रित अभियानमा लागेका छन् । जनतालाई भेटेर आफू र आफ्नो पार्टीका उम्मेदवारलाई विजयी गराउन उनीहरु जिल्लाका गाउँ केन्द्रित अभियानमा छन् । यस क्षेत्रमा विगतदेखि नै नेकपा एमाले विजयी हुँदै आएकोले आफ्नो बर्चस्व कायम राख्ने दाउमा छ भने अरु पार्टीले पनि अहिले परिवर्तनको सन्देश दिने उद्देश्यका साथ लागेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी, रास्वपा र नेकपा पनि जित्ने दाबी गर्दै चुनावी अभियान अघि सारेका छन् । पहिला दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा अहिले एउटा मात्र छ । विसं २०४६ र २०५१ का निर्वाचनमा दुवै निर्वाचन क्षेत्रमा कांग्रेसले जित हासिल गरेको थियो । दुइपटक नै एकबाट रेवतीप्रसाद भुसाल र दुईबाट स्वर्गीय ढुण्डीराज शास्त्रीले जितेका थिए । २०५६ सालमा नेकपा एमाले र राष्ट्रिय जनमोर्चाबीच भएको तालमेलपछि एकमा राजमोका डिलाराम आचार्य र दुईमा नेकपा एमालेका डिल्लीराज खनालले विजय हासिल गरेका थिए ।  

विसं २०६४ मा निर्वाचन क्षेत्र नं १ मा तत्कालीन माओवादीका टोपबहादुर रायमाझी र २ मा पुष्पा भुसालले जित्नुभयो भने २०७० मा १ मा माओवादीका टोपबहादुर रायमाझी र २ मा नेकपा एमालेका स्व दुमन सिंह थापाले । त्यसैगरी विसं २०७४ को निर्वाचनमा अर्घाखाँचीमा एउटा मात्र निर्वाचन क्षेत्र कायम भयो । उक्त निर्वाचनमा नेकपा माओवादी र एमालेको गठबन्धनबाट माओवादीका टोपबहादुर रायमाझी विजयी भएका थिए । विसं २०७९ को  निर्वाचनमा एमालेका उम्मेदवार टोपबहादुर रायमाझी ४२ हजार ६७५ मत ल्याई विजयी भए । उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार पुष्पा भुसाल ९गौतम०लाई एक हजार ७३० मतान्तरले पराजित गरेका थिए । भुसालले ४० हजार ९४५ मत प्राप्त गरेका थिए ।

विसं २०७९ को निर्वाचनको नतिजा हेर्दा अर्घाखाँचीमा नेकपा एमाले नेपाली कांग्रेसभन्दा १० हजारभन्दा बढी मतले अगाडि छ । उक्त निर्वाचनमा प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ नेकपा एमालेले ३७ हजार ४५० मत प्राप्त गर्दै पहिलो भएको थियो । नेपाली कांग्रेसले २६ हजार ८६५ मत पाउँदै दोस्रो स्थानमा रहेको थियो । त्यस्तै आठ हजार ९५१ मत ल्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो भएको थियो भने नेकपा माओवादी केन्द्रले सात हजार ३४२ मत ल्याउँदै चौथो भएको थियो । राष्ट्रिय जनमोर्चाले पाँच हजार ३२७ मत र नेकपा ९एकिकृत समाजवादी०ले एक हजार ६७ मत ल्याएको थियो । उक्त निर्वाचनमा एमाले एक्लै र नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा गठबन्धन गरी प्रतिस्पर्धा गरेका थिए । एकमात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा यस पटकअर्थात् यही फागुन २१ गतेको निर्वाचनका लागि नेपाली कांग्रेसबाट विष्णुप्रसाद खनाल र नेकपा एमालेबाट पीताम्बर भुसालको उम्मेदवारी परेको छ । 

त्यसैगरी नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट रामबहादुर चौहान, राष्ट्रिय स्वतन्त्र पाटीबाट हरिप्रसाद भुसाल, नेकपा माओवादीबाट खिमबहादुर घर्ती, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट झविन्द्र फुल्लेल, राष्ट्रिय जनमोर्चाबाट पशुपति ढकाल, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट पुस्करनाथ आचार्य र स्वतन्त्र उम्मेदवार रवि शाह उम्मेदवार छन् । त्यस्तै मङ्गल नेशनल अर्गनाइजेसन पार्टीबाट सूर्यबहादुर गुरुङ, जनता समाजबादी पार्टीबाट टुकबहादुर चेवाली, आम जनता पार्टीबाट दुर्गाबहादुर भाट क्षेत्री, नेशनल रिपब्लिक नेपालबाट विष्णुबहादुर गाहा तथा पम्फा श्रेष्ठ र हिमाल भुसाल स्वतन्त्र उम्मेदवार छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यस जिल्लामा कूल एक लाख ७१ हजार ६५२ जना मतदाता रहेको जिल्ला निर्बाचन कार्यालय अर्घाखाँचीका प्रमुख बुद्धप्रकाश पौडेलले जानकारी दिए । जसमा पुरुष ८७ हजार १५७ जना र महिला ८४ हजार ४९५ जना रहेका छन् । एक निर्वाचन क्षेत्र रहेको अर्घाखाँची जिल्लामा १०२ मतदानस्थल र २०९ मतदान केन्द्र रहेका छन् ।

प्रकाशित मिति: बुधबार, माघ २१, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update