पाल्पा, लुम्बिनी प्रदेश स्थापना भएको ९ वर्ष पूरा भएको छ । २०७४ माघ २१ गते प्रदेश सभाको पहिलो बैठक बसेको थियो । सोही दिनदेखि प्रदेशमा स्थापना दिवस मनाउने गरिएको हो ।
लुम्बिनीले हरेक वर्ष माघ २१ लाई प्रदेशसभा स्थापना दिवस र फागुन ३ लाई सरकार स्थापना दिवसको रुपमा मनाउँदै आएको थियो । तर २०८० देखि भने दुई वटा दिवसलाई एकैदिन मनाउने गरी माघ २१ लाई प्रदेश स्थापना दिवसको रुपमा मनाउने निर्णय प्रदेश सरकारले गरेको हो । जस अनुसार आज प्रदेश राजधानी देउखुरीमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । प्रदेश स्ताथापनाको यो अवधिसम्म आइपुग्दा प्रदेशले ६ जना मुख्यमन्त्री र अन्य मन्त्री, सांसदहरु उत्पादन गरिसकेको छ । यहाँ पहिलो कार्यकालको पाँच वर्षमा २ र दोस्रो कार्यकालको तीन वर्षमा ४ वटा सरकार बने । यस्तै प्रदेश प्रमुख पनि पहिलो कार्यकालमा २ र दोस्रो कार्यकालमा २ वटा फेरिए । प्रदेश प्रमुख उमाकान्त झाको २०७४ साल माघ ७ गते पद बहालीसँगै बुटवलमा कार्यालय स्थापना भएको थियो । त्यसपछि धर्मबहादुर यादव प्रदेश प्रमुख भए । दोस्रो कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचन भए । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै कृष्ण बहादुर घर्तीमगर प्रदेश प्रमुख बने । यस्तै प्रदेशको पहिलो मुख्यमन्त्री एमालेका शंकर पोखरेल बने । उनी २०७४ देखि २०७८ साउनसम्म मुख्यमन्त्री बनेका थिए । पोखरेल नेतृत्वको मन्त्रिपरिषद्मा ११ जनासम्म मन्त्री बनेका थिए । पोखरेलपछि नेपाली कांग्रेस, माओवादीसहितको गठबन्धनको कुलप्रसाद केसीको नेतृत्वमा सरकार बनेको थियो । उक्त मन्त्रिपरिषद्मा १७ जना मन्त्री बने । उनी २०७८ साउनदेखि २०७९ पुससम्म मुख्यमन्त्री बनेका थिए । प्रदेश सभाको दोस्रो कार्यकालमा एमालेका नेता लीला गिरी नेतृत्वको सरकारका ११ सदस्यीय मन्त्रिमण्डल बन्यो । गिरी नेतृत्वको सरकार तीन महिनामै परिवर्तन भएको थियो । गिरी २०७९ पुसदेखि २०८० वैशाख सम्म मुख्यमन्त्री बने ।
त्यसपछि कांग्रेसका नेता डिल्लीबहादुर चौधरी नेतृत्वको सरकार बनेको थियो । चौधरी नेतृत्वको सरकार अन्तिम समयमा १२ सदस्यीय बनेको थियो । उनी २०८० वैशाखदेखि २०८० चैतसम्म मुख्यमन्त्री बनेका थिए । चौधरीपछि माओवादी केन्द्रका नेता जोखबहादुर महरा मुख्य मन्त्री बने । उनको नेतृत्वमा सरकार बन्दा ११ जना मन्त्री थिए । उनी २०८० चैतदेखि २०८१ साउनसम्म मुख्यमन्त्रीको जिम्मेवारीमा रहे । हाल एमाले नेता चेतनारायण आचार्य मुख्यमन्त्री छन् । उनको मन्त्रिपरिषद्मा १२ सदस्यीय मन्त्री रहेका छन् । प्रदेश सभाबाट ऐन निर्माण गर्नेदेखि सरकारले जनसरोकारको पक्षमा काम गरिरहेको जनाए पनि संघीयतालाई बलियो बनाउनेगरी प्रदेश सभा र सरकारबाट बनेका ऐन, कानुनहरु भने पूर्ण कार्यान्वयनमा आउन सकेका छैनन् । अभिवक्ता केदार गौतमले यसबिचमा दलहरूले जनताको सेवाभन्दा मन्त्री र मुख्यमन्त्री बन्ने मात्र काम गरेको बताए । दलहरूको अस्थिरताले जनतामा प्रदेशप्रति अरूचि देखिएको उनको बुझाई छ ।
आज प्रदेशभर सार्वजनिक विदा
प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले सोमबार जारी गरेको सूचनामा उल्लेख भएअनुसार प्रदेश राजपत्र भाग ३, खण्ड ८, संख्या १४, मिति २०८१ चैत २१ बमोजिम यस वर्ष पनि स्थापना दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको हो । मन्त्रालयका प्रदेश सचिव लोकबहादुर सुनारद्वारा जारी सूचनामा सम्बन्धित सबै निकायलाई जानकारीका लागि सार्वजनिक गरिएको जनाइएको छ । प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा कार्यक्रम गरी दिवस मनाउने प्रदेश सरकारको तयारी छ ।


