Shittalpati
प्रतिरोधात्मक क्षमता बढाउन औषधी वितरण गर्दै पाल्पा उद्योग वाणिज्य संघ

पाल्पा । जिल्लामा दिनप्रतिदिन कोरोना संक्रमित बढिरहेको समयमा पाल्पा उद्योग वाणिज्य संघले रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि निःशुल्क वितरण गरेको छ । संघले नेपाल राष्ट्रिय माडवारी परिषद्को सौजन्य, बुटवल उद्योग वाणिज्य संघको सहजिकरणमा रोग प्रतिरोधात्मक क्षमता बढाउने हेमियोप्याथिक औषधि तानसेनमा वितरण गरेको हो । मानव स्वास्थ्यलाई मध्यनजर गर्दै संघले रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका मानिसहरुलाई कोरोना भाइरस संक्रमण भए जोखिम बढी हुने हुदाँ बुटवल उद्योग वाण्ज्यि संघको सहजिकरणमा निःशुल्क औषधि वितरण गरिएको संघका अध्यक्ष राजु महर्जनले बताए । उनले भने‘जिल्लामा दिनदिनै कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको समयमा जिल्लावासीको रोग प्रतिरोधक क्षमता बढाउन हेमियोप्याथिक औषधि वितरण गरिएको हो ।’ पहिलो चरणमा तानसेनवासीलाई पु¥याउने र दोस्रो चरणमा जिल्लाका अन्य स्थानहरुमा पनि वितरण गरिने अध्यक्ष महर्जनले बताए ।

रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि लिन लाइनमा सेवाग्रही । -तस्वीर:जीवलाल सुवेदीको फेसबुक पेजबाट

 

जिल्लाका सबै नागरिकहरुलाई औषधि वितरण गर्ने लक्ष्य अनुसार बुटवल उद्योग वाणिज्य संघसँग समन्वय गरी औषधि वितरण गरिदै जाने संघका कार्यकारी निर्देशक शुसिल प्रधानले बताए । संघले औषधि वितरण गर्न थालेपछि औषधि लिन आउनेहरुको अत्याधिक भिड बढेको छ । दुई दिनसम्म २५ सय परिवारलाई उक्त औषधि वितरण गरिसकिएको संघका लेखा प्रमुख सरोजलाल शाक्यले जानकारी दिए । यो ‘आर्सेनिकम अल्बम ३० सी’ नामक होमियोप्याथिक औषधि हो । यस औषधिले कुनै साइडइफेक्ट वा नकारात्मक असर नगर्ने बताइएको छ । विभिन्न अनुसन्धानबाट कोभिड–१९ को जोखिम हुन नदिन औषधि प्रभावकारी देखिएको चिकित्सकहरुले बताउँदै आएका छन् । यो औषधि इजरालय र भारतमा परीक्षण भइसकेको छ । कोभिड–१९ बाट संक्रमित ६ हजारमा परीक्षण गरिँदा ११ जनामा मात्र संक्रमण दोहोरिएको थियो ।

अहिले बाँडिएको औषधि कोभिड–१९ कै औषधि नभई मानिसमा प्रतिरोधात्मक क्षमता बढाउने रसायन हो । संक्रमितकै उपचारका लागि थप केही औषधि पनि सेवन गर्न लगाइन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत वैशाख १७ गते कोभिड–१९ को रोकथामका लागि आयुर्वेदिक तथा वैकल्पिक चिकित्सा पद्दतिसम्बन्धी मापदण्ड ल्याएपछि होमियोप्याथीको उक्त औषधिले वितरणका लागि स्वीकृति पाएको हो । यो औषधिको सेवनकर्ताले समय मिलाएर एक महिनाभित्र १२ गोली लिनुपर्छ । पछिल्लोपटक यो औषधिको नेपाल राष्ट्रिय मारवाडी परिषद्ले निःशुल्क वितरण गर्दै आएको छ ।

प्रकाशित मिति: बुधबार, असार १०, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update