
इमान सिं राना
पाल्पा(रामपुर) । जिल्लाको रामपुर नगरपालिकामा कोरोना पोजेटिभ देखिएका दुई युवा कोरोना जितेर घर फर्किएका छन् । रामपुर ९ का २३ र २८ वर्षका युवकहरु फलोअप पिसिआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएसंगै घर फर्किएका हुन् । गत जेठ १२ गते भारतबाट फर्किएर सीताराम माध्यमिक विद्यालय रामपुर ४ को क्वारेन्टाइनमा रहेका उनीहरुमा २१ गते कोरोना पुष्टि भएको थियो । त्यस पछि गत जेठ २६ गते रामपुर नगरपालिका र निस्दी गाउँपालिकाले शहिद बहुमुखी क्याम्पस रामपुरमा निर्माण गरेको आईसोलेसनमा उनीहरुलाई सारिएको थियो ।
उनीहरुसंगै सीताराम माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका कन्ट्रयाक ट्रेसिङ्गमा परेका ११ जना पनि सोमबार रिपोर्ट नेगेटिभ आएसंगै मंगलबार घर फर्किएका छन् । आईसोलेसनमा रहेका युवाहरुलाई रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले पुष्पगुच्छा र रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्यले रिपोर्ट नेगेटि आएको प्रमाण पत्र हस्तान्तरण गरेर विदाई गरेका थिए । रामपुर नगरपालिका नगर प्रमुख रमण बहादुर थापाले घरमा गएर एक हप्ता सम्म परिवार र समुदायका मनिसहरुसँग दुरी कायम गर्न आग्रह गरे । उनले अनुशासन पूर्व क्वारेन्टाइन र आईसोलेसनमा बसेकोमा धन्यवाद दिदै स्वास्थ्यमा विशेष ख्याल गर्न अनुरोध गरे ।
क्वरेन्टाईन व्यवस्थापन समितिका अध्यक्ष हिमाल मल्ल, सदस्य कमलराज भट्टराई, शहिद बहुमुखी क्याम्पसका प्रमुख मुरारी प्रसाद काफ्ले सहित चिकित्सक, सुरक्षाकर्मीहरुको रहोबरमा उनीहरुलाई विदाई गरिएको हो । कार्यक्रमको सञ्चालन रामपुर नगरपालिका स्वास्थ्य शाखाका प्रमुख तिर्थ प्रसाद ढुङ्गानाले गरेका थिए । उनीहरु विदाई भएसंगै पाल्पामा निको भएर घर फर्किनेको संख्या ७ पुगेको छ । यस अघि निस्दी गाउँपालिकाका १ जना, रैनादेवी छहरा गाउँपालिकाका २ जना, पूर्वखोला गाउँपालिकाका १ जना र गुल्मीको रुरु गाउँपालिकाका १ जना निको घर फर्किएको पाल्पाका कोभिड फोकल पर्सन श्रीकृष्ण भट्टराई जानकारी दिए । पाल्पामा सोमबार सम्ममा १ सय ७६ जनामा संक्रमण देखिएको छ ।