Shittalpati
पाल्पामा मंगलबार थप ५८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ सय ३४ पुग्यो

रामचन्द्र रायमाझी

पाल्पा । जिल्लामा मंगलबार मात्र ५८ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा र केन्द्रीय प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा पूर्वखोला गाउँपालिकाका ३३ जना पुरुष र ४ जना महिला गरी ३७ जना, बगनासकाली गाउँपालिकामा ११ पुरुष र माथागढी गाउँपालिकामा १० जना पुरुषमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन श्रीकृष्ण भट्टाईले बताए । पूर्वखोला गाउँपालिकामा देखिएका ३७ जना नागरिक जेठको दोस्रो हप्ता भारतबाट आएर वडा नम्वर ६ र १ का विभिन्न क्वारेन्टाइनमा बसेका थिए । हिजो मात्र गाउँपालिकामा ८० जनामा संक्रमण देखिएको थियो । उनीहरु मध्ये २२ जनालाई विरकोटमा गाउँपालिकाले निर्माण गरेको आइसोलेसन सेन्टरमा राखिएको छ भने अन्यलाई क्वारन्टाइनमै छुट्टै बल्ग बनाई राखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले बताए । यो सँगै गाउँपालिकामा संक्रमितको संख्या १ सय २९ पुगेको छ ।

त्यस्तै बगनासकाली गाउँपालिकामा देखिएका ११ जना नागरिक जेठ ११ गते भारतबाट आएर वडा नम्वर १ र ३ मा निर्माण गरिएका विभिन्न क्वारेन्टाइनमा बस्दै आएका थिए । उनीहरुलाई तानसेन मिसन स्थित भूषल डाँडा माविमा निर्माण गरिएको आइसोलेसन सेन्टरमा पठाई सकिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले बताए । योसँगै गाउँपालिकामा संक्रमितको संख्या २८ पुगेको छ । त्यस्तै माथागढी गाउँपालिकामा पनि १० जना पुरुषमा संक्रमण देखिएको छ । उनीहरु भारत र तेस्रो मुलुकबाट आई वडा नम्वर १, २, ३ र ४ मा निर्माण गरिएका क्वारेन्टाइनमा बस्दै आएका थिए । उनीहरुलाई तानसेनको आइसोलेसनमा ल्याउने तयारी भए पनि बाटोमा पहिरो गएका कारण समस्या सिर्जना भएको गाउँपालिकाका अध्यक्ष सन्तोष थापाले बताए । गाउँपालिकामा यो सँगै सक्रमितको संख्या २७ पुगेको छ । मंगलबार देखिएका ५८ जना संक्रमितसँगै जिल्लामा संक्रमितको संख्या २ सय ३४ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस अघि रैनादेवी छहरा गाउँपालिकामा २० जना, रम्भा गाउँपालिकामा १६ जना, रिव्दीकोट गाउँपालिकामा ४ जना, निस्दी गाउँपालिकामा २ जना, रामपुर नगरपालिकामा २ जना, तिनाउँ गाउँपालिकामा ३ जना, उपचारको क्रममा लुम्विनी मेडिकल कलेजमा गुल्मीका २ जना र अर्घाखाँचीका एक जनामा कोरोना सक्रमण देखिएको थियो । संक्रमित मध्ये पूर्वखोलाका एक जनाको उपचारको क्रममा मत्यु भएको थियो भने ७ जना निको भई घर फर्किएका छन् । तानसेन नगरपालिकामा भने अहिले सम्म एक जनामा पनि संक्रमण देखिएको छैन ।

प्रकाशित मिति: मंगलबार, असार ९, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update