Shittalpati
व्यवसायी, मजदुरको सारथी बन्दै ‘श्रीनगर यातायात सहकारी’

पाल्पा, जिल्लाको सदरमुकाम तानसेन –७  धोविधारामा २०७९ साल  फागुन ४ मा स्थापना भएको श्रीनगर यातायात सहकारी संस्था यातायात व्यवसायी, मजुरहरुको सारथी बन्दै आएको छ । “सम्मानका लागि समृद्धि, समृद्धिका लागि सहकारी” भन्ने मूल नाराबाट प्रेरित भई स्वरोजगार र आत्मनिर्भरको साथी बन्ने उद्देश्यले खोलिएको सहकारी छोटो समयमा आर्थिक समृद्धिमा अब्बल बन्नुको साथै व्यवसायी र मजदुर वर्गको सारथी बन्दै आएको हो ।  

आर्थिक समृद्धिको मेरुदण्ड सहकारी भएकाले पनि श्रीनगरले शेयर सदस्यहरुमा सामूहिक भावनाको विकास गरी उपलब्ध श्रम, सीप, श्रोत साधन, पुँजी र प्रविधिको माध्यमबाट समृद्धिको यात्रालाई पहिल्याएको छ । उसले व्यवसायी तथा मजदुरबिच छरिएर रहेको पुँजीलाई एकत्रित गरी उनीहरुलाई स्वरोजगार बनाउनुको साथै दुख पर्दा सहयोगी बन्ने गरेको छ । पाल्पा, रुपन्देही र अर्घाखांँचीलाई केन्द्रमा राखेर वित्तिय कारोबार गर्दै आएको सहकारीले यहाँका व्यवसायी, मजदुरहरुको हितमा काम गर्दै आएको छ ।

शेयर सदस्य र धितोको अवस्थालाई मध्यनजर गरी सुलभ दरमा कर्जा उपलब्ध गराई व्यवसायी र मजदुरहरुको  आर्थिक सहयोगीको भूमिकामा सहकारीले काम गर्दै आएको सहकारीका अध्यक्ष डिलबहादुर ढुँगानाले बताए । सहकारी सिद्धान्तको पुर्ण पालना र शुसाशन कायम गराउनका लागि सदस्यमुखी योजनाहरु बनाई लागु गर्दै आइएको उनको भनाई छ । अध्यक्ष ढुंगानाले भने ‘सदस्य तथा स्वरोजगार मजदुरहरुलाई क्षमता विकास र सवारी दुर्घटना न्यूनिकरणका लागि विभिन्न संघ संस्थासँग सहकार्य गरी प्रशिक्षण दिने कार्य समेत  गरिर्दै आइएको छ ।’ शेयर सदस्यहरुमध्ये विपतजन्य घटना भएमा संस्थाले छुट्याएको कोषबाट समेत आर्थिक सहयोग गर्दै आइएको उनको भनाई छ ।

वित्तीय सहकारी अभियानमा जागरण, सशक्तिकरण, व्यवसायिकीकरण, गुणस्तरिय सुनिश्चिता, संस्थागत वृद्धि र निरन्तर समृद्धिको खाका तय गर्दै सहकारीले एक औपचारिक कार्यक्रमका बिच तेस्रो  वार्षिक साधारण सभा समेत मनाएको छ । सभाको  बचत तथा ऋण सहकारी संघ लुम्बिनी प्रदेशका सचिव जगदीश भट्टराईले उद्घाटन गरेका हुन् । सभाको उद्घाटन गर्दै प्रमुख अतिथि  समेत रहेका भट्टराईले व्यवसायी र मजुरको क्षेत्रमा सहकारीले पु¥याएको योगदान महत्वपूर्ण रहेको बताए । उनले भने ‘सहकारीको मूल्य, मान्यतालाई आत्मसाथ गर्दै मजदुरहरुको आर्थिक विकासमा सहकारीले राम्रो काम गरेको छ । यो प्रशंसनिय नै छ ।’ कार्यक्रममा जिल्ला सहकारी संघका उपाध्यक्ष कृष्ण भुसालले शेयर सदस्यहरुलाई थप व्यवसायिक र स्वरोजगार बनाउने दिशामा लाग्न सहकारीलाई आग्रह गरे । उनले शेयर सदस्यहरुकालाई ठूलो ग्यारेज सञ्चालन गरी रोजगार दिने गरी काम गर्न सुझाव  दिए ।

तानसेन –७ का वडा अध्यक्ष प्रदिप खनालले सहकारीले छोटो समयमै समृद्धिको दिशामा फड्को मार्न सफल भएकोमा खुसी व्यक्त गरे । उनले संस्थालाई दीगो र प्रभावकारी बनाउन समर्पण, प्रतिवद्धता र पारदर्शी हुनुपर्नेमा जोड दिए ।  नेपाल पत्रकार महासंघ पाल्पाका सचिव रामचन्द्र रायमाझीले उत्पादनमूलक क्षेत्रमा मात्र लगानी गर्न सहकारीलाई आग्रह गरे । उनले सहकारीले मजदुरहरुको आर्थिक विकासमा सकरात्मक कदम चालेको बताए । शेयर सदस्य चुरामणी  पाण्डेले सहकारीले आफुहरुलाई अफठ्यारो पर्दा सहयोग गर्ने गरेको उल्लेख गरे । सहकारीले सोही अवसरमा असल कारोबार गर्ने शेयर सदस्यहरु दिपबहादुर खड्का, कुमार केसी र केसबहादुर विरकट्टालाई सम्मान समेत गरेको छ ।  कार्यक्रममा  लेखा  तथा सुपरिवेक्षक समितिका संयोजक श्रीकृष्ण  अधिकारीले लेखा समितिको प्रतिवेदन, कार्यवाहक सचिव टोपराज बस्यालले प्रगति प्रतिवेदन, कोषाध्यक्ष बासुदेव खड्काले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका अध्यक्ष डिलबहादुर ढुंगनाको अध्यक्षता, उपाध्यक्ष किरण चित्रकारको स्वागत, सल्लाहकार भविन्द्र गौतमको सञ्चालनमा कार्यक्रम भएको थियो ।  

 

प्रकाशित मिति: आइतबार, पुस २०, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update