पाल्पा, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा नव आगन्तुक विद्यार्थीलाई स्वागतसँगै उत्प्रेरणा तालिम प्रदान गरिएको छ । स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा स्नातक तहको विभिन्न संकायमा अध्ययनरत पहिलो वर्षका नव आगन्तुक विद्यार्थीलाई स्वागतसँगै उत्प्रेरणा तालिम प्रदान गरिएको हो ।

कार्यक्रमको क्याम्पस प्रमुख डा. टंक प्रसाद पन्थले उद्घाटन गरेका थिए । कार्यक्रममा नव अगन्तुक विद्यार्थीहरूलाई टीका, पुष्षगुच्छासँगै उपहार प्रदान गरिएको थियो । साथै उनीहरुलाई शब्द, सिर्जना, सङ्गीत र नृत्यद्वारा स्वागत समेत गरिएको हो । कार्यक्रममा जेसीआई नेपालका प्रशिक्षक रमेश अर्यालले मानिसको कर्तव्यका साथै जीवनका सफलताका सूत्रहरू प्रस्तुत गरेका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै क्याम्पस प्रमुख पन्थले नवआगन्तुुक विद्यार्थीलाई स्वागत गरे । उनले विद्यार्थीहरुलाई स्वागत गर्दै देशकै उत्कृष्ट नतिजा ल्याउन क्याम्पस सफल भएको बताए । उनले भने “प्राध्यापक, विद्यार्थी दुबैको मेहनत र परिश्रमका कारण आज पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पस नतिजामा देशकै उत्कृष्ट नतिजा ल्याउन सफल भएको हो ।” उत्कृष्ट नतिजाकै कारण पछिल्लो समयमा क्याम्पसमा विद्यार्थीको संख्या बढ्दै गएको क्याम्पस प्रमुख पन्थले बताए ।

कार्यक्रममा नि. क्याम्पस प्रमुख टंक प्रसाद भट्टराई, पुर्व क्याम्पस प्रमुख जीवनबहादुर थापा, सहायक क्याम्पस प्रमुखहरु कृष्ण कार्की,सन्तोष खनाल, श्रीचन्द्र शाक्य र चन्द्रबहादुर थापा, विद्यार्थी कल्याण प्रमुख पुष्कर आचार्य, बि.बि.ए÷ बि.बि.एम निर्देशक केशव घिमिरे, प्राध्यापक संघका इकाई अध्यक्ष शारदा प्रसाद भट्टराई, कर्मचारी संघ इकाई अध्यक्ष डुकुल राज ढकाल, निवर्तमान विद्यार्थी संगठनका अध्यक्ष तथा प्रतिनिधि, प्राध्यापक, कर्मचारी र विद्यार्थीहरुको उपस्थिति रहेको थियो । स्ववियु अध्यक्ष मिलन घर्ती मगरले विद्यार्थीहरुको हकहितमा स्वतन्त्र विद्यार्थी युनियन सक्रिय भएर काम गर्दै आएको बताए । उनले विद्यार्थीहरुलाई कुनै समस्या भए आफुहरुलाई सिधै सम्पर्क गर्न समेत आगह गरे । स्ववियु अध्यक्ष मगरको अध्यक्षता, उपाध्यक्ष सन्तोष सुनारको स्वागत, कोषाध्यक्ष मिस्मा राना र सदस्य बिचन्द्र रायमाझीको सञ्चालनमा कार्यक्रम भएको थियो ।


