Shittalpati
पाल्पामा थप ८२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ सय ७६ पुग्यो

रामचन्द्र रायमाझी

पाल्पा । जिल्लामा कोरोना सक्रमणको संख्या दिनहुँ थपिदै गएको छ । सोमबारमात्र जिल्लामा ८२ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा र केन्द्रीय प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा पूर्वखोला गाउँपालिकाका ८० जना र माथागढी गाउँपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पूर्वखोला गाउँपालिकाका १ सय ४० जनामा गरिएको पिसिआर परीक्षणमा ८० जनाको पोजेटिभ आएको गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले जानकारी दिए । उनीहरु सबै भारतबाट आएर गणपती, जनउज्वल र अकला विद्यालयमा निर्माण गरिएका क्वारेन्टाइनमा बसेका थिए । यो सँगै पूर्वखोल गाउँपालिकामा संक्रमितको संख्या ९२ पुगेको छ । गाउँपालिकाले २५ बेड क्षमताको आइसोलेसन सेन्टर निर्माण गरेपनि एकै पटक धेरैमा सक्रमण देखिएपछि उनीहरुलाई कहाँ राख्ने भन्ने समस्या उत्पन्न भएको गाउँपालिकाले जनाएको छ ।

त्यस्तै माथागढी गाउँपालिकामा पनि २ जना पुरुषमा संक्रमण देखिएको गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले जानकारी दिए । उनीहरु दुई हप्ता अघि भारतबाट आएर वडा नं ७ सिद्धार्थ माविमा निर्माण गरिएको क्वारेन्टाइनमा बसेका थिए । उनीहरुको आरडिटी परीक्षण नेगेटिभ आए पनि पछि पिसिआरको लागि स्वाव संकलन गरेर प्रादेशिक प्रयोगशाला पठाएकोमा पोजेटिभ देखिएको अध्यक्ष थापाले बताए । योसँग माथागढी गाउँपालिकामा संक्रमितको संख्या १७ पुगेको छ । सोमबार देखिएका संक्रमितसँगै जिल्लामा संक्रमितको संख्या १ सय ७६ पुगेको हो । यस अघि रैनादेवी छहरा गाउँपालिकामा २० जना, बगनासकाली गाउँपालिकामा १७ जना, रम्भा गाउँपालिकामा १६ जना, रिव्दीकोट गाउँपालिकामा ४ जना, निस्दी गाउँपालिकामा २ जना, रामपुर नगरपालिकामा २ जना, तिनाउँ गाउँपालिकामा ३ जना, उपचारको क्रममा लुम्विनी मेडिकल कलेजमा गुल्मीका २ जना र अर्घाखाँचीका एक जनामा कोरोना सक्रमण देखिएको थियो । संक्रमित मध्ये पूर्वखोलाका एक जनाको उपचारको क्रममा मत्यु भएको थियो भने ५ जना निको भई घर फर्किएका छन् । तानसेन नगरपालिकामा भने अहिले सम्म एक जनामा पनि संक्रमण देखिएको छैन ।

प्रकाशित मिति: सोमबार, असार ८, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update