पाल्पा, जिल्लाको रामपुर नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई परिचय पत्र र सहायता सामग्री दिएको छ । नगरपालिकाले ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा यहाँका अपाङ्गता भएका व्यक्तिहरुलाई परिचय पत्र र सहायता सामग्री दिएको हो ।
अपाङ्गता भएका ६ जनालाई परिचय पत्र १ जना श्रवण शक्ति कम भएका व्यक्तिलाई श्रवण सहायता सामग्री वितरण गरिएको नगरपालिकाले जनाएको छ । उनीहरुलाई नगर प्रमुख रमणबहादुर थापा र उपप्रमुख बाल कुमारी थापाले परिचय पत्र र सहायता सामग्री हस्तान्तरण गरेका हुन् ।
परिचय पत्र र सामग्री हस्तान्तरण गर्दै प्रमुख थापाले अपाङ्गता भएकाहरुको सहजताका लागि परिचय पत्र र सहायता सामग्री सहयोग गरिएको बताए । उनले भने“अपाङ्गता भएका व्यक्तिहरुको सहजता र राहतका लागि कानुनी व्यवस्था भए पनि कार्यान्वयन पक्ष कमजोर हुँदा सास्तीसँगै समस्या झेल्नु परेको छ, उहाँहरुको सहजताका लागि हामीले सहजिकरण र सहयोग गरेका हौं ।” नगर प्रमुख थापाले फरक क्षमता भएका व्यक्तिहरुलाई समाज र राष्ट्र सबैले सम्मानजनक व्यवहार गर्न आवश्यक रहेको बताए । उनले शारिरिक रुपले अशक्त भए पनि उच्च मनोबलका साथ काम गर्न सके अरुमा निर्भर हुन नपर्ने उल्लेख गरे । उनले भने “म अपाङ्ग छु भनेर आफुलाई कमजोर नसोच्नुस ,उच्च मनोबलका साथ अगाडि बढ्नुस नगरपालिका संधै तपाईहरुको साथामा छ र तपाईहरुलाई सहयोग गर्छ ।” उनले अपाङ्गता भएका व्यक्तिहरुका लागि नगरपालिकाले अपाङ्गमैत्री भवन निर्माण गरेको र उक्त भवनबाट फरक क्षमता भएका व्यक्तिहरुलाई रोजगारीसँगै निःशुल्क आवासको व्यवस्था गरेको बताए । नगरपालिकाले एउटा रातो, २ वटा निलो र ३ वटा पहेँलो अपाङ्गता परिचय पत्र वितरण गरेको छ ।
अपाङ्गता भएका व्यक्तिहरुले सञ्चालन गर्ने पेशा व्यवसायमा नगरपालिकाले कर छुट दिंदै आएको जानकारी दिए । नगर प्रवक्ता एवं वडा नं. १ का अध्यक्ष कपिलबहादुर खाँणले अपाङ्गता भएका व्यक्तिहरुको सरल जीवनयापन र राहतका लागि रामपुर नगरपालिका प्रतिबद्ध भएर लागेको बताए । उनले अपाङ्गता भएकाहरुको हक अधिकारका लागि विभिन्न सुविधा सहित जीवन उपयोगी सिप तथा तालिम सञ्चालन गर्दै आएको बताए ।
कार्यक्रममा रामपुर नगरपालिकाका प्रशासकीय अधिकृत युवराज पन्थीले अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारको सुनिश्चिततासँगै संरक्षणका लागि सबैले ध्यान पु¥याउनु पर्नेमा जोड दिए । साथै उनले अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकार र कानुनी व्यवस्था सम्बन्धी विषयमा सहजिकरण गरेका थिए । उपप्रमुख बाल कुमारी थापाको अध्यक्षता, महिला तथा बालबालिका शाखा प्रमुख पुजा परियारको सञ्चालनमा कार्यक्रम भएको थियो ।


-1762576335.jpg)