Shittalpati
गौ पालनको लागि रिडीमा धान्याञ्चल महायज्ञ हुँदै

पाल्पा, गौ पालनका लागि रिडीमा धान्याञ्चल महायज्ञ हुने भएको छ । यही मंसिर १९ गते देखी २५ गते सम्म रुरु गौ सेवा आश्रम तानसेन –१४ कुसेनी रुरु क्षेत्र धाम रिडीमा एक हप्ते भविष्य पुराण धान्याञ्चल महायज्ञ हुन लागेको हो ।

रुरु गौं सेवा आश्रममा रहेका १ सय ३५ वटा स्थानीय गाईहरुको पालन, पोषण, हेरचाहको लागि वार्षिक रुपमा खर्च जुटाउनको लागि महायज्ञ सञ्चालन गर्न लागिएको यज्ञ मुल आयोजक समितिले  तानसेनमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । आश्रमकले विगत ५ बर्ष देखी निरन्त गौ पालन गर्दै आएको छ । रुरु धाम रिडि क्षेत्रमा छाडा छोडिएका करीव २ सय गाईहरुको व्यवस्थापन गरी गौ पालन सेवा सुरु गरेको हो । योगाचार्य महिला बाचिका सरितानन्दी माताजी प्रमुख बाचक रहेको महायज्ञमा प्रथम महिला जगदगुरु शंकराचार्य माता हेमानन्द गिरीजी महाराजको विशेष सहभागिता रहने छ । महायज्ञमा भक्तजनहरुले गाई पालन पोषणको लागि आवश्यक पर्ने, घास, पराल, दाना, धान, मकै तथा नगद दान गर्न सक्ने छन् । एक गाईको  पालन पोषणको लागि मासिक खर्च २ हजार १ सय  लाग्ने भएकाले सोही अनुसारको दान गरी पुन्य कमाउन यज्ञ मुल आयोजक समितिले सबैमा अनुरोध गरेको छ । 

महायज्ञमा दैनिक भजन प्रतियोगिता, दीपोत्सव, करोडौ दीप प्रज्वलन, दैनिक निशुल्क भण्डारा गौ, महाआरती  टाढाबाट आउने भक्तजनहरुलाई खान बस्ने सुविधा रहेको सेवा आश्रमका मुल संरक्षक शंकर गिरीले बताए । महायज्ञ मुल आयोजक समितिले भजन प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार, द्धितिय हुनेलाई १५ हजार, तृतिय हुनेलाई १० हजार र सान्त्वना हुनेलाई ५ हजारको पुरस्कार समेत व्यवस्था गरेको छ । हिन्दु धर्मालम्वीहरुको लागि जन्मदेखी मृत्युसम्म गाईको आवश्यकता पर्ने भएकाले विभिन्न परिस्थितीको कारण हेला भएका गाईहरुको संरक्षण गरी गाईको बारेमा जनचेतना जगाउने, गाईको दुध, दही,मही, घिउको महत्व बारे प्रचार गर्ने, गोवर तथा गौमुत्रको प्रयोग बारे जनचेतना जगाउने आश्रम सक्रिय भएर लागेको आश्रमकी अध्यक्ष राजु राणा मल्ल ले बताईन । गौ सेवा आश्रम सञ्चालन भएदेखी नै पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जाका विभिन्न क्षेत्रमा छाडा छोडिएका गाई गोरुको व्यवस्थापन तथा पालन पोषणले विगतका बर्षहरुमा अर्गली क्षेत्रमा कृषकहरुले रातदिन खेतीपाती कुरेर बस्नु पर्ने बाध्यता हटेको आश्रमकी उपाध्यक्ष सिता ज्ञवालीले बताईन ।

सबै जना पवित्र चार धाम क्षेत्रमा सञ्चालन भएको महायज्ञ आएर कम्तीमा पनि एउटा गाईको मासिक खर्च २१ सय रुपैयाँ दान गरेर पुन्य कमाउन उपाध्यक्ष ज्ञवालीले जोड दिईन । पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले गौ सेवा आश्रमलाई सञ्चालनको लागि प्रचार प्रसारमा पत्रकारहरुको पूर्ण  सहयोग रहने प्रतिवद्धता जनाए ।  गौ पालनको लागि वार्षिक ४० देखी ५० लाख खर्च रहेकोले महायज्ञबाट खर्च कटाएर कम्तीमा पनि २० देखी ३० लाख  आम्दानी गर्ने लक्ष्य रहेको आश्रमका मुल संरक्षक गिरीले बताए । गाई पालनकै लागि वार्षिक रुपमा महायज्ञ सञ्चालन गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।  आश्रममा रहेका  लैनो गाई  ५ हजारमा जुनसुकै बेला पनि किन्न पाउने र दुध दिन छोडेपछि पुनः आश्रममा ल्याएर बुझाउन पाउने व्यवस्था  रहेको मुल संरक्षक गिरीले बताए ।  आश्रममा प्रन्धदेखी विस वटा गाई दुहुना हुने गरेका छन् । महायज्ञको लागि तयारी अन्तिम चरणमा पुगेको आयोजक पक्षले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर १७, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update