Shittalpati
ऋणको आकार बढ्दै, असोजसम्म ५० अर्ब ६० करोड थपियो

पाल्पा, सार्वजनिक ऋणको आकार बढ्दै गएको छ । सरकारले राजस्व लक्ष्य अनुसार उठाउन नसक्दा ऋणको आकार बढ्दै गएको हो । असोजसम्म भुक्तानी गरेको साँवा घटाउँदा कुल ऋण ५० अर्ब ६० करोड रुपैयाँ थपिएको छ ।

सरकारले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा एक खर्ब ८४ करोड रुपैयाँ सार्वजनिक ऋण उठाएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आवको साउनमा ४४ अर्ब ६६ करोड ऋण उठाएको सरकारले भदौमा ३६ अर्ब १३ करोड लिएको थियो ।

यस्तै, असोजमा थप २० अर्ब ४ करोड ऋण लिइएको हो । यससँगै असोजसम्म कुल सार्वजनिक ऋण २७ खर्ब २४ अर्ब ६५ करोड पुगेको छ । गत आवको अन्तिम महिना असारसम्म सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड थियो । चालु आवमा १९ खर्ब ६० अर्बको बजेट ल्याएको सरकारले १४ खर्ब ८० अर्ब रुपैयाँमात्र राजस्व असुलीको लक्ष्य राखेको छ । आम्दानी र राजस्वको यही फरक तथ्यांकले सार्वजनिक ऋण बढ्दै गएको हो । सरकारले यो वर्ष ५ खर्ब ९५ अर्ब रुपैयाँ सार्वजनिक ऋण लिने लक्ष्य राखेको छ । यसमध्ये असोज मसान्तसम्म उठाएको १ खर्ब ८४ करोड ऋण वार्षिक लक्ष्यको १६ दशमलव ९३ प्रतिशत हो । अहिले नेपालको सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४४ दशमलव ६१ प्रतिशत पुगेको छ । यसमा वैदेशिक ऋणको हिस्सा ५३ दशमलव ०४ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४६ दशमलव ९१ प्रतिशत छ । कार्यालयका अनुसार असोजसम्म आन्तरिक ऋण १२ खर्ब ७८ अर्ब ७ करोड पुगेको छ । यो जीडीपीको २०.९३ प्रतिशत हो । यस्तै, बाह्य ऋण १४ खर्ब ४६ अर्ब ५८ करोड पुगेको छ । यो जीडीपीको २३.६९ प्रतिशत हो ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update