Shittalpati
घट्यो सुनको भाउ

पाल्पा, लगातार बढ्दो रहेको सुनको मूल्य पछिल्लो केही दिन यता निरन्तर घट्दो क्रममा रहेको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्लो तीन दिनयता सुनको मूल्यमा निरन्तर गिरावट देखिएको हो ।

गत आइतबार एकैदिन प्रतितोला ११ हजार ६ सय रुपैयाँले घटेर २ लाख ४१ हजार ९ सय कायम भएको सुनको मूल्य सोमबार पुनः तोलामा २ हजार घटेर २ लाख ३९ हजार ९०० मा किनबेच भएको थियो । मंगलबार फेरि प्रतितोला २ हजार ९ सय घटेपछि २ लाख ३७ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तिहार यता मात्रै सुन प्रतितोला १६ हजार पाँच सय रूपैयाँले घटिसकेको छ । सोमबार बेलुका अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस तीन प्रतिशतसम्म घटेको थियो । अहिले भने सुन प्रतिऔंस तीन हजार नौ सय ७५ डलरमा कारोबार भइरहेको छ । यसअघि सुन प्रतिऔंस चार हजार चार सय डलरसम्म पुगेर ऐतिहासिक उचाई बनाएको थियो । मंगलबार चाँदी पनि तोलामा ६० रूपैयाँले घटेर दुई हजार नौ सय २० रूपैयाँमा कारोबार भइरहेको छ ।

सुनमा व्यवसायीहरु आकर्षित
पछिल्लो समय लगानीका लागि सुरक्षित मानिने सुनमा व्यवसायीहरु समेत आकर्षित भइरहेका छन् । त्यही कारण नेपालमासमेत सुनको आयात बढेको छ । गत आर्थिक वर्षको तीन महिनामा सय किलो सुन आयात हुँदा चालु आर्थिक वर्षको सोही अवधिमा ६ सय किलो सुन आयात भएको भन्सार विभागको तथ्यांक छ । विभागका अनुसार १० अर्ब २५ करोड ३२ लाख रुपैयाँ बराबरको ६ सय १ किलो सुन आयात भएको छ । यसबाट सरकारले १ अर्ब २ करोड ५३ लाख रुपैयाँ राजस्व उठाएको विभागको तथ्यांक छ । गत आर्थिक वर्षको तीन महिनामा १ अर्ब ४ करोड ३२ लाख रुपैयाँको १ सय किलो सुन आयात भएको थियो । वाणिज्य बैंकहरुले काँचो सुन आयात गर्छन् भने व्यवसायीहरुले उक्त सुन खरिद गरी गरगहना बनाई बेच्रुने गर्छन् । गत असोजमा राष्ट्र बैंकले सुनको आयात कोटा दैनिक ५ किलो बढाइदिएको थियो । ‘आयात गर्न सकिने सुनको दैनिक परिमाण २० किलोलाई २५ किलोग्राम कायम गरिएको छ,’ राष्ट्र बैंकले भनेको छ । विभागका अनुसार गत आर्थिक वर्षको तीन महिनामा १४ करोड ७३ लाख रुपैयाँको सुनका गरगहना आयात भएको थियो ।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update