हामी बहुजातीय, बहुभाषिक र बहुधार्मिकतासँग जोडिएका छौं । वर्षभरि विभिन्न चाडपर्व मनाइन्छ । दशैं, तिहार, छठ, माघे संक्रान्ति, होलीदेखि उता उदाउँदै गएका नयाँ पर्व सम्म । हाम्रा पर्वहरूले नेपाली समाजमा आपसी सद्भाव, मेलमिलाप र उत्साह ल्याउने वातावरण बनाउनुपर्छ । तर पछिल्लो समय चाडपर्वहरू मौलिक संस्कृतिको संरक्षणभन्दा पनि फजुल खर्चको प्रदर्शन मञ्च बन्दै गएको चिन्ता व्याप्त छ । चाडपर्वको नाममा गरिने अत्यधिक खर्चले घर–परिवारको आर्थिक अवस्था कमजोर बनाउँछ । ऋण लिएर लुगा, मोबाइल, मोटरसाइकल किन्ने, मोजमस्तीका लागि अनावश्यक खर्च गर्ने चलन बढ्दो छ । यस्तो प्रतिस्पर्धात्मक खर्चले खुशी भन्दा पनि मानसिक दवाब, ऋणभार र सामाजिक असमानता बढाउँछ । यो संस्कार र परम्पराप्रतिको सम्मान होइन, संस्कृतिको व्यावसायीकरण हो । हामीले बिर्सनु हुँदैन—चाडपर्वको सार एक अर्कामा सद्भाव बाँड्नु, पूजाआजा, परिवारसँग समय बिताउनु र आत्मसन्तोष प्राप्त गर्नु हो ।
धन देखाएर होइन, मन बाँडेर पर्वको अर्थ पुरा हुन्छ । अहिलेको पुस्तामा सामाजिक सञ्जालको प्रभावले देखाउने संस्कृतिले जरो गाड्दै गएको छ । फोटो र भिडियोमा देखिनको लागि गरिने खर्चले नेपाली समाजको नैतिक धरातल कमजोर बनाइरहेको छ । अब समय आएको छ—चाडपर्वलाई मितव्ययी, सार्थक र सामाजिक बनाउने । स्थानीय उत्पादन प्रयोग गर्ने, दान सहयोगमा खर्च गर्ने, वातावरणमैत्री उत्सव मनाउने संस्कारको सुरुवात गर्नुपर्छ । सरकारले पनि चेतनामूलक अभियान सञ्चालन गर्नुपर्छ जसले खर्च होइन, संस्कृतिको संरक्षणलाई प्राथमिकता देओस् । संक्षेपमा भन्नुपर्दा, चाडपर्व त हाम्रो पहिचान हो । तर त्यो पहिचान धन प्रदर्शन र फजुल खर्चले होइन, आपसी प्रेम, सादगी र सामूहिकताको भावनाले जोगिन सक्छ । त्यसैले अबको चेतना—चाडपर्व मनाऔं, तर फजुल खर्च नगरौं ।

