Shittalpati
पाल्पाका दुई  क्षेत्रमा ३० उम्मेदवार, ७ स्वतन्त्रले पनि दिए उम्मेदवारी

पाल्पा,आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पाल्पाका दुई वटा निर्वाचन क्षेत्रमा ३० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।  निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम तथ्यांकअनुसार १४ राजनीतिक दल र ७ जना स्वतन्त्र गरी ३० जनाले  उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।

पाल्पा क्षेत्र नं. १ बाट ९ दल र ४ स्वतन्त्र र दुई बाट १४ दल र ३ जना स्वतन्त्र गरी ३० जनाले उम्मेदवारी दर्ता गरेका छन् । पाल्पा क्षेत्र नं. १ मा नेकपा एमालेबाट निवर्तमान सासंद नारायण प्रसाद आर्चाय, नेपाली नेपाली कांग्रेसबाट सन्दिप राना, नेपाली कम्युनिष्ट पार्टीबाट हुमबहादुर सुनारी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट बिमल पन्त र राष्ट्रिय जनमोर्चाबाट नरमती सिंजाली, मंगोल नेशनल अर्गनाइजेसन सलन चिदी, नेशनल रिपब्लिक नेपालबाट थमन सिंह रेग्मी मगर र  राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बृहस्पति अर्याल, नेपाल कम्युनिष्ट पार्टी ( माओवादी) बाट पुरन गैरे शर्मा, स्वतन्त्रबाट कौशल अर्याल, डिल्लीराज काफ्ले, जुद्धबहादुर विरकट्टा, वाछावली मिया गरी ९ दलबाट र ४ जना स्वतन्त्र गरी १३ जनाले  मनोनयन दर्ता गरेको पाल्पा क्षेत्र नं. १ का निर्वाचन अधिकृत दशरथ पंगेनीले जानकारी दिए ।

यस्तै पाल्पा क्षेत्र नं. २ मा १४ राजनीतिक दल र तीन स्वतन्त्र उम्मेवारले मनोनयन दर्ता गरेका छन् । यहाँ २ बाट नेकपा एमालेबाट निर्वमान् सासंद ठाकुर गैरे, नेपाली कांग्रेसबाट जिल्ला सभापति हिमालदत्त श्रेष्ठ, नेपाली कम्यूनिष्ट पार्टीबाट पूर्वमन्त्री सोमप्रसाद पाण्डेय, राष्ट्रिय स्वतन्त्र पार्टीबाट माधव बहादुर थापाले उम्मेदवारी दिएका छन् । त्यसैगरी राष्ट्रिय जनमोर्चाबाट जिल्ला अध्यक्ष बाल बहादुर दर्लामी, राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला अध्यक्ष डुलबहादुर कुँवर, नेशनल रिपब्लिक नेपालबाट देव प्रसाद श्रेष्ठ, सार्वभौम नागरिक पार्टीबाट रामबहादुर अस्लामी, जनता समाजवादी एकल चुनाव चिन्हबाट खिक बहादुर रेश्मी, राष्ट्रिय जनमुक्तिबाट टोपबहादुर अस्लामी, मंगोल नेसनल अर्गनाईजेसन बाट मान बहादुर दर्लामी, नेपाल कम्युनिष्ट पार्टी(माओवादी)बाट विष्णु ठडराई,  प्रगतिशिल लोकतान्त्रिक पार्टी बोधराज जैसी, नेपाल मजदुर किसान पार्टीबाट कृष्ण सोभा मुस्याख्वले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी स्वतन्त्रबाट मोहन कुमार थापा, देवी प्रसाद भण्डारी र केशवप्रसाद बस्याल गरी १७ जनाले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता सहायक निर्वाचन अधिकृत केवश पराजुलीले जानकारी दिए । 

पाल्पामा नेपाली काँग्रेसले दुवै जना नयाँ अनुहारलाई चुनावी मैदानमा उतारेको छ । नेकपा एमालेले निवर्तमान सांसदलाई नै उम्मेदवार बनाएको छ । रास्वपाले दुबै निर्वाचन क्षेत्रमा नयाँ उम्मेदवार बनाएको छ । नेकपाले पुर्व उद्योगमन्त्रीलाई उम्मेदवार बनाएको छ । पाल्पामा अधिकाशं उम्मेदवार नयाँ रहेका छन् । पाल्पामा एक जना राष्ट्रिय जनमोर्चाबाट मात्र महिला उम्मेदवारी परेको छ । पाल्पामा २ लाख ७ हजार ४ सय ३६ कुल मतदाता मध्ये क्षेत्र नं. १ मा ९८ हजार ३ सय ८३ र क्षेत्र नं. २ मा १ लाख ९ हजार ५३ मतदाता रहेका छन् । कुल मतदातामा ३ हजार ६ सय ५० महिला पुरुष भन्दा बढी रहेका छन् । २०७९ को निर्वाचनमा भन्दा ६ हजार १ सय १० जना मतदाता थपिएका छन् । क्षेत्र नं. १ मा ११७ वटा र क्षेत्र नं. २ मा एक सय ३४ मतदान केन्द्र रहेका छन् ।

 

प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update