Shittalpati
पूर्वमन्त्री पाण्डेले पाल्पाको सिद्धबाबा क्षेत्रबाट शुरु गरे चुनावी प्रचार अभियान 

पाल्पा, यही आउदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि पाल्पा क्षेत्र नंं. २ का नेपाली कम्युनिष्ट पार्टीका  उम्मेदवार एवं पुर्व उद्योगमन्त्री सोम प्रसाद पाण्डेले दोभानको सिद्धबाबाबाट चुनावी प्रचार–प्रसार अभियान शुरु गरेका छन् । तिनाउ गाउँपालिकाको वडा नं. ३ स्थित सिद्धबाबा सुरुङमार्ग प्रवेशद्धारमा पत्रकार सम्मेलन गरी पाण्डेले शुक्रबारदेखि अभियान शुरु गरेका हुन् । 

उम्मेदवार पाण्डेले २०२६ साल देखी २०७८ सालसम्म आईपुग्दा सिद्धबाबा क्षेत्रमा ९ सय ७२ जना व्यक्तिले अकालमा ज्यान गुमानु परेको अवस्थामा, सिद्धबाबा क्षेत्रको सडकलाई सुरक्षित बनाउन, सुरुङ्गमार्ग एकमात्र विकल्प हो भनि  आफुले निरन्तर दवाब दिएका  कारण आज सिद्धवावा सुरुङ्गमार्ग बन्न सफल भएको बताए । सिद्धबाबा सुरुङ्गमार्ग निर्माणको लागि  तत्काल रकम सुनिश्चित नभए,म सिद्धबाबा क्षेत्रमै अनशन बस्ने  घोषणा गरेपछि बाध्य भएर तत्कालिन  अर्थमन्त्री युवराज खतीवडाले १० अर्ब रुपैयाँ बजेट सुनिश्चितता गरी सुरुङ्ग मार्ग निर्माणको काम भएको  पाण्डेले दावी गरे । सुरुङ्गमार्ग  निर्माणको लागि स्विस सरकारबाट सर्भे तथा डिपिआर निर्माण देखी बजेट सुनिश्चितताको लागि २०७४ देखी ७९ सम्मको कार्यकालमा आफ्नो महत्वपुर्ण भुमिका रहेको नेकपाका उम्मेदवार पाण्डेले दावी गरे । 

उनले उनले भने “मेरो पाल्पामा अरु कुनै स्वार्थ छैन्, मलाई कुनै पैसा कमाउनु परेको छैन्, अझै पाल्पाली जनताको सेवा गर्ने, आफ्ना विगतका अधुरा योजना पुरा गर्ने, दुःखमा परेका पाल्पालीहरुको सेवा गर्ने, पाल्पाको विकास निर्माणमा योगदान गर्ने अभियानका साथ पाल्पा क्षेत्र नंं २ मा नेकपाबाट उम्मेदवारी दिएको छु ।” 
२०७९ सालको निर्वाचनमा पराजय भोगे पनि पाल्पाको विकास निर्माण, योजना तथा बजेट ल्याउनमा ठूलो भुमिका खेलेको, दुःख परेका अधिकाश पाल्पालीको घर–घरमा पुगेको, चुनावमा पराजय भए पनि जनताको काम कटिवद्ध भएर लागेकाले नेकपालाई मतदान गरी आफुलाई विजय बनाउन मतदातासँग पाण्डेले अनुरोध गरे । 

संसददेखी सरकारसम्म, गाउँदेखी शहरसम्म, झुपडीदेखी महल सम्मको अनुभव आफुमा रहेको, कानुन निर्माणदेखी सरकार चलाउनेसम्म अनुभव भएकाले भदौ २३ र २४ मा जेनजीहरुले गरेको आन्दोलनको भावनालाई समेत पुरा गर्नको लागि पाल्पा क्षेत्र नंं २ मा नेकपाको तारा चिन्हमा मतदान गर्न उम्मेदवार पाण्डेले जनतासँग आग्रह गरे । मुलुक अहिले संकटमा रहेकोले, निकास र विकासको लागि राजनीतिक दलहरुबिचको सहमति, एकता र सहकार्यको लागि सक्रियता रहने उम्मेदवार पाण्डेले बताए । चुनावी प्रचार प्रसार पत्रकार भेटघाट कार्यक्रममा नेकपा पाल्पाका अध्यक्ष अशोक कुमार शाही, केन्द्रिय सदस्य यादव बहादुर रायमाझी, समानुपातिक सांसद पार्वती विकसहित स्थानीयवासी, पत्रकार एवं पार्टीका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । 

पाल्पा क्षेत्र नंं २ मा पाण्डे सहित १७ जनाको उम्मेदवारी परेको छ । अन्य उम्मेदवारहरुमा नेकपा एमालेबाट निर्वमान् सासंद ठाकुर गैरे, नेपाली कांग्रेसबाट जिल्ला सभापति हिमालदत्त श्रेष्ठ,  राष्ट्रिय स्वतन्त्र पार्टीबाट माधव बहादुर थापाले उम्मेदवारी दिएका छन् । त्यसैगरी राष्ट्रिय जनमोर्चाबाट जिल्ला अध्यक्ष बालबहादुर दर्लामी, राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला अध्यक्ष डुल बहादुर कुँवर, नेशनल रिपब्लिक नेपालबाट देव प्रसाद श्रेष्ठ, सर्वभौम नागरिक पार्टीबाट राम बहादुर अस्लामी, जनता समाजवादी एकल चुनाव चिन्हबाट खिक बहादुर रेश्मी, राष्ट्रिय जनमुक्तिबाट टोपबहादुर अस्लामी, मंगोल नेशनल अर्गनाईजेसनबाट मानबहादुर दर्लामी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट ठडराई, प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट बोधराज जैसी, नेपाल मजदुर किसान पार्टीबाट कृष्ण सोभा मुस्याख्वले उम्मेदवारी दिएका छन् ।  त्यसैगरी स्वतन्त्रबाट मोहन कुमार थापा, देवी प्रसाद भण्डारी र केशवप्रसाद बस्याल गरी १७ जनाले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता सहायक निर्वाचन अधिकृत केवश पराजुलीले जानकारी दिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयले पाल्पाका सबै उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गरेको छ । 

प्रकाशित मिति: शुक्रबार, माघ ९, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update