मुलुकमा भएका राजनीतिक आन्दोलनका क्रममा आफ्नो जीवनको बलिदान गरेका सहिदहरुको सम्झनामा सहिद सप्ताह सुरु भएको छ । सहिदहरुको सम्झनामा प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म सात दिन सहिद सप्ताह मनाउने गरिन्छ । सोही कार्यक्रम अनुसार शनिबारदेखि सहिद सप्ताह सुरु भएको हो ।
सहिदहरुको स्मरणमा १६ गतेसम्म विभिन्न कार्यक्रमहरु हुने गर्दछन् । सहिद सप्ताह हालका दिनमा केवल औपचारिकतामा मात्रै सीमित हुँदै गएको स्थिति विद्यमान रहे पनि हप्ताहभरि नै सहिदहरुको मात्रै विशेष चर्चा–परिचर्चा हुनुलाई भने एकप्रकारले अर्थपूर्ण नै मान्नुपर्ने हुन्छ । सच्चा सहिदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरत चन्दको स्मरण गर्दै हरेक वर्ष सप्ताहव्यापी कार्यक्रमहरु गर्ने गरिएको छ । सहिदको नाममा कार्यक्रमहरु भए पनि सच्चा सहिदको सम्मान भने हुन सकेको छैन् । यो दुखको कुरा हो । कवि भूपी शेरचन भन्छन्, ‘हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए, बन्दैन मुलुक दुई–चार सपूत मरेर नगए ’ तर, आजको अवस्था उनले भनेजस्तो छैन । न देशका लागि मर्नेहरू नै छन्, न सहिद भएकाहरूप्रति नै श्रद्धाभाव व्यक्त गर्ने अरु कोही छन् । आज सच्चा सहिदलाई नक्कली सहिदले विस्थापित मात्र होइन गिज्याइरहेको अवस्था छ । मुलुक र जनताको हकअधिकारका आन्दोलनमा सहादत प्राप्त गरेकामध्ये कसलाई सहिद भन्नेमा अझै स्पष्ट मापदण्ड बन्न सकेको छैन् । मुलुकमा चलेको १० वर्षे सशस्त्र द्वन्द्व, २०६२÷६३ सालको जनआन्दोलन, मधेस आन्दोलन र अन्य विभिन्न पहिचानका आन्दोलनपछि सहादत प्राप्त गर्ने व्यक्तिलाई सहिद घोषणा गर्ने प्रचलन ह्वात्तै बढेको छ । तर सरकारसँग हालसम्म मुलुकमा कति व्यक्ति सहिद भए भन्ने स्पष्ट तथ्याङ्क छैन् । यो विडम्बना हो । पञ्चायतकालमा प्रजातन्त्र पुनःस्थापनाका लागि भएका आन्दोलनमा पटकपटक थुप्रै योद्धाले शहादत प्राप्त गरेको भए पनि उनीहरूको योगदान प्रति राज्यले त्यति महत्व दिएको देखिँदैन । २०४६ को जनआन्दोलनमा शहादत प्राप्त गर्ने १९ जनालाई सम्मानस्वरूप सरकारले जनही लाख रुपैयाँ आर्थिक सहयोग भने यसअघि गरिसकेको छ । माआवादी जनयुद्ध, १९ दिने जनआन्दोलन तथा मधेस आन्दोलनका अतिरिक्त यस क्रममा कैयन नागरिकले ज्यान गुमाइसकेका छन् । सहिद परिवारका नाममा केहीलाई राहत दिइए पनि कतिपय अझै पनि उपेक्षित छन् । यी सबैको योगदानको खोजीनिती हुन आवश्यक छ । मरेका मात्र नभएर अंगभंग भई बाँचेका तथा बेपत्ता पारिएकाहरूको पनि खोजीनिती हुन आवश्यक छ । सहिदका अपूरा सपना पूरा गर्न सबै गणतान्त्रिक शक्तिहरू एकताबद्ध भई समृद्धिको यात्रामा हातेमालो गर्न सकेमा मात्र सहिद सप्ताहले सार्थकता पाउनेछ । अन्यथा दिवस औपचारिकताकै सिमित बन्ने छ ।

