
रमेश विश्वकर्मा
गुल्मी । जिल्लामा एकै दिन थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ६९ पुगेको स्वास्थ्य कार्यालयका प्रमुख डा. भवानीप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा एकै दिन १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमण पुष्टि हुनेमा रेसुङ्गा नगरपालिकाका १४ जना र छत्रकोट गाउँपालिकाका १ जना ६९ वर्षीय पुरुष रहेका छन् । छत्रकोट गाउँपालिकाका ती पुरुषको गत ४ गते मृत्यु भएको शर्माले बताए । उनका अनुसार पुरुषको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । उनको ४ गते दिउसो आरडिटी परीक्षण गरिएकोमा रिपोर्ट पोजेटिभ आएपछि तत्काल स्वाव संकलन गरिएको थियो ।
उनी गत जेठ २५ गते भारतबाट आएर होम क्वारेन्टाइनमा बसेका थिए । मृतक पुरुष प्यारालाइसीसको बिरामी रहेको बताइएको छ । भारतमा उपचार गरेर घरमा ल्याइएको हो । मृतकको शवलाई ५ गते नै नेपाली सेनाले व्यवस्थापन गरेको थियो । जिल्लामा योसंगै कोरोनाको कारण मृत्यु हुनेको संख्या ३ पुगेको छ, भने जिल्लामा अहिलेसम्म ६ जना उपचार पछि निको भएका छन् ।
अहिलेसम्म(शनिबार) ईस्मा गाउँपालिकाका २१ जना, कालिगण्डकी गाउँपालिकाका १ जना, गुल्मीदरबार गाउँपालिकाका २० जना, चन्द्रकोट गाउँपालिकाका १८ जना, छ्त्रकोट गाउँपालिकाका २८ जना, धुर्कोट गाउँपालिकाका २२ जना, मदाने गाउँपालिकाका २ जना, मालिका गाउँपालिकाका ४ जना, मुसिकोट नगरपालिकाका ११ जना, रुरुक्षेत्र गाउँपालिकाका ४ जना, रेसुङ्गा नगरपालिकाका ३२ जना, सत्यवती गाउँपालिकाका ६ जना गरि जिल्लामा १ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रमुख शर्माले बताए । संक्रमण देखिएका सबै भारतबाट आएको बताईएको छ ।