Shittalpati
गुल्मीमा थप ४८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ सय ५३ पुग्यो

रमेश विश्वकर्मा
गुल्मी । जिल्लामा एकै दिन थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा एकै दिन ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसंगै जिल्लामा कोरोना संक्रमितको संख्या १५३ पुगेको स्वास्थ कार्यालयका प्रमुख डा.भवानीप्रसाद शर्माले जानकारी दिए । संक्रमण पुष्टि हुनेमा धुर्कोट गाउँपालिकाका २० जना, गुल्मीदरवार गाउँपालिकाका १४ जना, ईस्मा गाउँपालिकाका १२ जना र मालिका गाउँपालिकाका २ जना रहेका छन् । उनीहरुको १६ देखि ५९ वर्ष उमेर समूहका रहेका छ । संक्रमण देखिएका सबै भारतबाट आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

बिहीबार मात्र ८ महिनाको बच्चासहित थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । चन्द्रकोट गाउँपालिकामा १७ जना, छत्रकोट गाउँपालिकामा २४ जना, रेसुङ्गा नगरपालिकामा एक जना र सत्यवती गाउँपालिकामा एक जना, गुल्मी दरवार गाउँपालिकामा दुई जना, रुरुक्षेत्र गाउँपालिकामा एक जना गरी ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अहिलेसम्म जिल्लामा कोरोना संक्रमणका कारण २ जनाको निधन भएको छ, भने ४ जना उपचार पछि निको भएका छन् । जिल्लामा अहिलेसम्म ४ हजार ४ सय ६६ जनाको परिक्षण गरिएको छ । जसमा ३ हजार ८ सय २१ जनाको आरडिटी नेगेटिभ र ६ सय ४५ पोजेटिभ देखिएको थियो । जिल्लामा अहिलेसम्म ९ सय ७६ जनाको स्वाब संकलन गरिएको प्रमुख शर्माले बताए । जसमा १ सय ५३ जनाको रिपोर्ट पोजेटिभ र ४ सय २५ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ३ सय ९८ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । भारत लगायतका देशहरूबाट गृह जिल्लामा आएका ३ हजार ३ सय ५१ जना जिल्लाका विभिन्न क्वारेन्टाइनमा रहेका छन् । २७ जना जिल्लाका विभिन्न स्थानमा निर्माण गरिएको आइसोलेशनमा रहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, असार ५, २०७७  १९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update