
पाल्पा, नेप्सेमा गिरावट आएको छ । मंगलबार १९ दशमलव ८९ अंक घटेको हो । सोमबारको तुलनामा ० दशमलव ७२ प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ७ सय ४१ दशमलव ९७ विन्दुमा ओर्लेको छ ।
गत बिहीबार ३८ अंक र आइतबार ३१ अंकले घटेको नेप्से सोमबार भने दोहोरो अंकले बढेको थियो । यो वृद्धि मंगलबारसम्म टिकेन । सो दिन कारोबारमा आएकामध्ये २९ कम्पनीको सेयर मूल्य बढ्दा २२१ वटाको घट्यो । यसरी सेयर मूल्य बढ्ने कम्पनीको तुलनामा घट्ने कम्पनी धेरै भएपछि समग्र नेप्सेमा दोहोरो अंकको गिरावट आएको हो । सो दिन ८९ हजार ७ सय ७५ पटकको कारोबारमा १ करोड ५ लाख ३५ हजार ८ सय ७४ कित्ता सेयर किनबेच भए । उक्त किनबेचमा ४ अर्ब ४३ करोड ८२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । सोमबार ५ अर्ब १० करोड ५७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । मंगलबार कारोबारमा आएकामध्ये १३ वटै उपसमूहकै परिसूचक घटेपछि समग्र नेप्से झण्डै २० अंकले घटेको हो । उधारोमा कारोबार गर्ने कारोबार हावी हुँदा बिक्री चाप बढेकाले बढ्नुपर्ने सिजनमा पनि सयेर बजार सूचक घटेको हो । नेप्सेमा कारोबार भएका आधिकांश कम्पनीको सेयर मूल्य घटेपछि समग्र बजार सूचक घट्न मद्दत पुगेको नेप्सेले जनाएको छ ।