
रामचन्द्र रायमाझी
पाल्पा । पाल्पामा थप ५ जनामा कोरोना संक्रमण देखिएको छ । विहिबार मात्र जिल्लामा ५ जना संक्रमित थपिएका हुन । थपिएका संक्रमित रिब्दीकोट गाउँपालिकाका ४ जना र तिनाउ गाउँपालिकाका १ जना रहेका छन् । प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको पिसिआर परीक्षणमा ५ जनामा कोरोना पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताए । उनका अनुसार २३ वर्षदेखि ५५ वर्ष उमेर समूहका पाँचै जना पुरुष रहेका छन् । रिब्दीकोट गाउँपालिकाका ४ जना संक्रमित जेठ १५ गते भारतबाट आएका थिए ।
उनीहरु मध्ये १ जना वडा नं १ ख्याहा स्थित सारधा मावि शान्तिचौरको क्वारेन्टाइनमा, वडा नं ६ ठिमुरे स्थित नवज्योती प्रावि इजरडाडाँको क्वारेन्टाइनमा २ जना र वडा न.७ को पालुङ्गमा रहेको कालिका निमावि बतासेको क्वारेन्टाइनमा १ जना बस्दै आएका थिए । उनीहरुको अवस्था सामान्य रहेको गाउँपालिकाका अध्यक्ष नारायण जिसीले बताए । संक्रमित चारै जनालाई तानसेन स्थित लुम्विनी मेडिकल कलेज प्रवासमा निर्माण गरिएको आइसुलेशन सेन्टरमा लैजाने तयारी भएको अध्यक्ष जिसीले जानकारी दिए । गाउँपालिकाले उनीहरुको पिसिआर परीक्षणका लागि जेठ ३० स्वाव संकलन गरेर प्रादेशिक प्रयोगशालामा पठाएको थियो ।
त्यस्तै तिनाउ गाउँपालिका वडा ६ का संक्रमित पुरुष १५ दिन अघि भारतबाट आएर वडा न. ५ चौविसमाईल स्थित कल्याणी आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेका थिए । उनलाई तानसेन नगरपालिका, बगनासकाली गाउँपालिका, तिनाउ गाउँपालिका र माथागढी गाउँपालिकाले तानसेन नर्सिङ्ग स्कूलमा संयुक्त रुपमा निर्माण गरेको आइसोलेशन सेन्टरमा पठाइएको गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्तीले बताए । संक्रमित पुरुषको अवस्था सामान्य रहेको छ । यि सँगै पाल्पामा कोरोना संक्रमितको सख्या ५६ पुगेको छ ।
हिजो मात्र तानसेन स्थित लुम्बिनी मेडिकल कलेजमा उपचाररत अर्घाखाँचीका एक जनामा कोरोना परीक्षणका क्रममा पोजिटिभ देखिएको थियो । यस अघि रम्भा गाउँपालिकामा १६ जना, बगनासकाली गाउँपालिकामा १ जना,माथागढी गाउँपालिकामा १४ जना, रैनादेवी छहरा गाउँपालिकामा २ जना, निस्दी गाउँपालिकामा २ जना, रामपुर नगरपालिकामा २ जना, पुर्वखोला गाउँपालिका १२ जना, लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा गुल्मीका एक जना व्यक्ति कोरोनाबाट सक्रमित भएका छन् । एक जना सक्रमितको उपचारको क्रममा मत्यु भएको थियो । आईसोलेसनमा बसेका सक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।