
नेपाली साहित्य आकासका चम्किला नक्षेत्र, बहुमुखी प्रतिभाका धनी, मोतीराम भट्ट नेपाली साहित्यका निम्ति अद्वितीय व्यक्तित्व हुन् । वि.सं. १९२३ भाद्र २५ गते कुशेऔंसीका दिन काठमाडौंको भोसीको टोलमा पिता दयाराम भट्ट, माता रिपुमर्दिनीदेवी भट्टका सुपुत्रका रूपमा मोतीराम भट्टको जन्म भएको हो । कुशेऔँसीका दिन जन्मेका उनको १९५३ सालको कुशेऔंसीकै दिन ३० वर्षको अल्पायुमै निधन भएको थियो । मोतीराम देश, समाज र संस्कृतिको चित्रणलाई जस्ताको त्यस्तै उतार्न सफल अग्रज साहित्यकार हुन् । उनका रचना युगौँसम्म बाँचिरहनेछन् । उनी मरेर गए पनि उनले रचना गरेका कृतिहरूले अझै लाग्छ उनी जिउँदै छन् ।
युवाकवि भट्टले आफूले साहित्य रचना मात्र गरेनन्, आदिकवि भानुभक्तलाई चिनाउने काम पनि गरेका हुन् । उनको साहित्य रचना मात्र नभई पत्रकारितामा पनि योगदान रहेको छ । उनले नेपाली भाषाको पहिलो पत्रिका ‘गोर्खा भारत जीवन’ प्रकाशित गरेका थिए । तत्कालीन समयमा गरेको उनको योगदान नेपाली साहित्यमा अतुलनीय छ । जीवनमा थोरै बाँचेर देश र नेपाली साहित्यमा अत्यन्तै धेरै योगदान पु¥याउने उनी नेपाली साहित्यका प्रेरक व्यक्तित्व, कुशल नायक र होनहार प्रतिभा हुन् । साँच्चै भन्नुपर्दा उनी नेपालका एउटा कर्मवीर सपूत मात्र नभई उनको मेहनत, जाँगर र आराधनाका कारणले उनले एउटा युग नै स्थापित गरे जसलाई ‘मोतीराम युग’ले अहिले पुकार्ने गरिन्छ । तिनै व्यक्तिको शनिबार जन्मजयन्ती देशभर विभिन्न साहित्यिक कार्यक्रम गरी मनाइएको छ । शृङ्गार रस र भक्ति रसमा रोचक गजल लेख्ने मोतीरामलाई नेपाली गजलका पिता मानिन्छ । अहिले युवा स्रष्टामा गजल विधा निकै लोकप्रिय छ । विशेषतः उनका कृतिहरुप्रतिको समर्पणले, नेपाली भाषाको फराकिलो दायरा र नेपालीपन उघोष गर्दछ । नेपाली साहित्यको श्रीवृद्धिमा मोतीरामको योगदान अनुकरणीय र प्रशंसनिय रहेको छ । तसर्थ उनको योगदानको सबैले अनुसरण गरी नेपाली साहित्यको विकासमा लाग्न जरुरी छ ।