पाल्पा , पाल्पामा शनिबार बेलुकी भएको टिपर दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । माथागढी गाउँपालिका–७ रहबासस्थित झडेवा–रहबास भित्री कच्ची सडकखण्डमा बेलुकी करिब ६ बजे लु २ ख ४५२५ नम्बरको टिपर दुर्घटना भएको हो ।
मृत्यु हुनेमा अर्घाखाँचीको शीतगंगा नगरपालिका–४ सिद्धारका २६ वर्षीय चिन्ता बहादुर सुनार, सोही ठाउँकै २६ वर्षीय सुनिल वि.क., रुपन्देही देवदह नगरपालिका –२ खैरेनीका २६ बषिय सुनिल नेपाली र भैरहवा मेडिकल कलेज रुपन्देहीमा उपचारको क्रममा तानसेन नगरपालिका–१० पटुवाका ३३ वर्षीय राजन चिदीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक होम प्रकाश चौधरीले बताए । चिदीको लुम्बिनी मेडिकल कलेज तानसेन बाट थप उपचारको लागी भैरहवा मेडकल कलेज रिफर गरिएको थियो ।
पाल्पा प्रहरीका अनुसार सो खाली टिपर झडेवाबाट रहबास चुनढुंगा खानीतर्फ जाँदै गर्दा सडकबाट करिब ५० मिटर तल खसेको थियो । दुर्घटनाको थप अनुसन्धान भईरहेको पाल्पा प्रहरीले जनाएको छ ।


