
नयाँदिल्ली । भारतमा २४ घण्टाभित्र कोरोनाभाइरसबाट मृत्यु भएकाहरुको संख्या एक्कासी बढेको छ । अघिल्ला दिनहरुमा मृत्यु हुनेहरुको विवरण सयको संख्यामा आउने गरेकोमा बुधबार हजारको संख्यामा आएको छ । भारतका स्वास्थ्य अधिकारीहरुले बुधबार बिहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको संख्या २ हजार ३ रहेको छ । अघिल्लो दिन मंगलबार बिहान उक्त मन्त्रालयले दिएको जानकारी अनुसार २४ घण्टामा ३ सय ८० जनाको मृत्यु भएको थियो ।
योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको कुल संख्या ११ हजार ९ सय ३ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा भारतमा १० हजार ९ सय ७४ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् । भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या ३ लाख ५४ हजार ६५ पुगेको अधिकारीहरुले जनाएका छन् । स्वास्थ्य अधिकारीहरुका अनुसार भारतमा अहिले पनि १ लाख ५५ हजार २ सय २७ जना संक्रमित अवस्थामै रहेका छन् भने अरु १ लाख ८६ हजार ३ सय ९५ जना संक्रमणमुक्त भएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले कोरोनाभाइरसका कारण मृतकको संख्या एक्कासी बढेकोप्रति चिन्ता व्यक्त गरेको छ । भारतमा प्रदेश अनुसार हेर्दा सवैभन्दा धेरै संक्रमित महाराष्ट्र प्रदेशमा रहेका छन् । रासस