
पाल्पा । तानसेनमा कोरोना भाइरस कोभिड १९ सम्बन्धी जिल्लास्तरीय अभिमुखिकरण कार्यक्रम भएको छ । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआइडी)को आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित सुआहाराको आयोजनामा एक दिने कोरोना भाइरस कोभिड १९ सम्बन्धी अभिमुखिकरण कार्यक्रम भएको हो । कार्यक्रममा जिल्ला समन्वय समितिका कार्यवाहक सभापती मिरा मरासिनीले जिल्लामा कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढ्दै गएकाले यस तर्फ ध्यान दिन सम्बन्धित निकायलाई आग्रह गरिन् ।
उनले यस विषम परिस्थितीमा सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिइन् । जिल्ला स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख विश्वनाथ न्यौपानेले विश्व माहामारीको रुपमा रहेको कोरोना भाइरसले जनजिवनमा ठूलो प्रभाव पारिरहेकाले यसतर्फ सबैले ध्यान दिनुपर्ने बेला आएको बताए । उनले स्थानीय सरकारले स्वास्थ्य शाखाका प्रमुखहरुको सक्रियतामा स्वास्थ्यकर्मीहरुको व्यवस्थापन, क्वारेन्टाइन व्यवस्थापन, आरडिटी परीक्षण, पिसिआर संकलनमा देखाएको तदारुकताको प्रशंसा गर्दै आगामी दिनमा अझ सशक्त ढङ्गले लाग्नु पर्नेमा जोड दिए । सुआहारा कार्यक्रमका डा.समिप थपलियाले कोभिड १९,स्वास्थ्य तथा पोषणमा सबैको भूमिका र आगामी दिनमा गर्न सकिने केही उपायहरुका विषयमा जानकारी गराएका थिए । सोही अवसरमा स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख न्यौपानेले जिल्लामा भएका काम आगामी दिनमा गर्नु पर्ने क्रियाकलापहरु तथा निर्देशिकाहरुको विषयमा जानकारी गराएका थिए ।
स्वास्थ्य कार्यलयका खोप अधिकृत ओम पन्थीले जिल्लामा कोरोना भाइरसको स्थितिका विषयमा जानकारी दिए । सुआहारा कार्यक्रमका दिनेश घिमिरेले सुआहाराले गरेका गतिविधिका विषयमा जानकारी गराएका थिए । कार्यक्रममा दशवटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख, जिल्ला स्वास्थ्य कार्यलयका फोकल पर्शन, मिसन अस्पताल, लुम्विनी मेडिकल कलेज, जिल्ला हस्पिटल, रामपुर हस्पिटल, ताँहु प्राथमिक स्वास्थ्य क्लिनिक लगायतका संघसस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।