.jpg)
पाल्पा । विश्व्यापी रुपमा बढ्दै गइरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको त्रासले आम मानिसमा मनोसामाजिक समस्या बढ्दै गइरहेको बेला जिल्लामा सञ्चालित सामाजिक संस्था नेपाल रेडक्रस शोसाइटीले भने मनोसामाजिक प्राथमिक उपचार दिदैआएको छ । संस्थाले कोरोना महामारीका कारण भारत लगायत तेस्रो मुलुकबाट आई स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा बसेका नागरिकहरुलाई लक्षित गरी मनोसामाजिक प्राथमिक उपचार सेवाहरु दिर्दै आएको हो । क्वारेन्टाइनमा रहेकालाई मानसिक तनाव हुन नदिन मनोसामाजिक उपचार दिन थालिएको रेडक्रसले जनाएको छ ।
क्वारेन्टाइनमा रहँदा मनमा विभिन्न कुरा खेलिरहँदा मानसिक रूपमा तनाव पैदा हुन सक्ने र यसले दीर्घकालीन रूपमा समेत असर पु¥याउने अवस्थालाई ध्यान दिँदै मनोसामाजिक उपचार सेवा दिर्दै आएको संस्थाका प्रमुख बाबुराम कार्कीले बताए । संस्थाले तिनाउ गाउँपालिकाको दोभान मावि र तिलोत्तमा माविका क्वारेन्टाइनमा रहेका नागरिकहरुलाई मनोसामाजिक प्राथमिक उपचार सेवा प्रदान गरिरहेको छ । कोरोना माहमारीको वर्तमान अवस्था, क्वारेन्टाइनमा सुरक्षित बस्ने तरिका, तनाव व्यवस्थापन, हात धुने अभ्यास तथा परिवार सम्पर्कको बारेमा प्रयोगात्मक अभ्यास सहित प्रशिक्षण दिइएको संस्थाका कार्यक्रम अधिकृत विनोद भारतीले जानकारी दिए ।
‘क्वारेन्टाइनस्थलमा बसिरहँदा आफूलाई कोरोना नै भएको छ भन्ने सोच हुन्छ’, कार्यक्रम अधिकृत भारतीले भने, ‘लकडाउनका कारण रोजगारी गुमाएर बसिरहेको हुनाले परिवारमा आर्थिक बोझलगायतका कुरा सोंचेर तनाव लिएर बसेकालाई आत्मबल बढाउन मद्दत पुर्याउने हेतुले मनोसामाजिक प्राथमिक उपचार दिइएको हो ।’ संस्थाले तनाव व्यवस्थापन गर्न सामाजिक सञ्जालमा आएका अपूर्ण र अविश्वसनीय समाचारहरू हेर्न र सुन्न बन्द गर्न, शारीरिक व्यायाम तथा सरसफाईमा ध्यान दिन, स्वस्थ र सन्तुलित भोजन गर्न, ध्रुम्रपान र मद्यपानबाट टाढै रहन, पर्याप्त मात्रामा सुत्ने, आफूलाई मनपर्ने र ऊर्जाशील क्रियाकलापमा समयको सदुपयोग गर्न साथीभाई तथा आफ्नो नजिकको मान्छेहरूको निरन्तर सम्पर्कमा बस्न क्वारेन्टाइनमा रहेका नागरिकहरुलाई आग्रह समेत गर्दै आएको छ । रेडक्रस तीनाउ उपशाखाका सचिव शन्तोष शेरचन र सुपरभाईजर सन्तोष घर्तीले मनोसामाजिक सम्बन्धी प्राथमिक उपचार सेवा दिर्दै आएका छन् । कार्यक्रममा वडा अध्यक्ष राजेश श्रेष्ठ, उपशाखा सभापति अमर प्रधान र चोपलाल गिरीको समेत उपस्थिती रहेको छ । सोही अवसरमा तिनाउ कृषि सहकारीको सहयोगमा माक्स,कपडा धुने साबुन र नुहाउने साबुन समेत वितरण गरिएको थियो । यो जिल्लाका अन्य स्थानीय तहका क्वारेन्टाइनहरुमा समेत सञ्चालन गरिने संस्थाले जनाएको छ ।