Shittalpati
सेवा विस्तारमा फड्को मार्दै मिसन अस्पताल

पाल्पा, पश्चिम नेपालमै अस्पतालको अभाव भएको बेला २०११ सालमा स्थापना भएको तानसेनस्थित भूषालडाँडामा रहेको युनाईटेड मिसन अस्पतालले सेवा विस्तारमा फड्को मार्दै गएको छ । यस क्षेत्रकै  पुरानो स्वास्थ्य संस्थाका रुपमा रहेको अस्पतालले पछिल्लो समय सेवा विस्तारसँगै सेवा प्रवाहमा सुधार ल्याएको हो । सेवा विस्तारको क्रममा अस्पतालले महिला तथा प्रसूतितर्फ सेवा थप गरेको छ । प्रसूति सेवाका लागि आउने महिलाहरूको संख्या बढ्दै जाँदा बेड अभावका कारण गर्भवती महिलाले पालो पर्खिनुपर्ने बाध्यता रहेको अवस्थामा अस्पतालले बेड थप गरेको हो ।

१६ बेड क्षमताको प्रसुति सेवा सञ्चालन गर्दै आएको अस्पतालले थप २० वेड र सेमी क्याविन समेतको सेवा विस्तार गरेको छ । विस्तारित सेवाले उपचार सेवा छिटोछरितो हुने र पालो पर्खिनु पर्ने अवस्थाको अन्त्य भएको अस्पतालका प्रशासकिय अधिकृत जीवन भट्टराईले बताए । “बेड नहुँदा गर्भवती महिलाले प्रसूतिको लागि पालो कुर्नुपर्ने अवस्था अब अन्त्य भएको छ,” उनले भने, “यसले सेवा प्रवाहमा पनि सुधार ल्याउनेछ ।” यो सेवासँगै अन्य सेवाहरु  पनि विस्तार गर्दै जाने योजना बनाइएको अधिकृत भट्टराईले बताए । उनले भने “हामी विभिन्न स्वास्थ्य सेवा थप गर्नुका साथै अस्पतालको स्तरवृद्धिमा निरन्तर लागेका छौं । विरामीको चाँपलाई थप व्यवस्थित गर्नुको साथै सेवालाई परिस्कृत गर्ने काम हुँदै आएको छ ।”  क्याविन सहितको प्राईभेटको सेवा माग भए अनुसार शुरु गरे पछि प्रसुतिका लागि आउने महिलाहरु र उनका कुरुवाहरुलाई सहज भएको अधिकृत भट्टराईको भनाई छ । सुत्केरी सेवामा नाम कमाएको मिसन अस्पतालमा भएको वेड क्षमतामा २० वेड थप भएपछि धेरैले राम्रो सुविधा पाउँने अस्पतालका डाईरेक्टर डा. रचेल कारकले विश्वास व्यक्त गरिन् ।  उनले भनिन् “हामी अस्पतालका सेवा र सुविधाका लागि सधै चिन्तित छौं ।” विरामीहरुको भरोसा बन्नुको साथै लामो इतिहासको गाथा बुनेको अस्पतालले गत वर्षदेखि विशेषज्ञसहितको नाक, कान र घाँटी (ईएनटी) को उपचार सेवा समेत सञ्चालनमा ल्याएको छ । यहाँँ सुुविधा सम्पन्न भौतिक संरचना र विशेषज्ञ चिकित्सकसहितको ईएनटी सेवा दिन थालेपछि विरामीहरु मंहगो शुल्क तिरेर बाहिर जानुपर्ने अवस्थाको अन्त्य भएको छ ।

विगतमा यस क्षेत्रमा प्रभावकारी ईएनटी सेवा नहुँदा विरामीहरु बाहिर गएर ठूला र महँगा अस्पतालमा उपचार गराउनुुपर्ने बाध्यता रहेको थियो । अस्पतालले हाल २ सय शैया नियमित रुपमा सञ्चालनको स्वीकृती पाएको छ । अस्पतालले हालै मुटु रोग सम्बन्धी विशेषज्ञ चिकित्सकको व्यवस्था समेत गरेर सेवा सञ्चालन गर्दै आएको छ भने, केही महिना भित्रै सिटिस्क्यान सेवा समेत सञ्चालन गर्ने तयारीमा  रहेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, साउन १८, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update