Shittalpati
पिसिआर परीक्षणको दायरा बढाउन पाल्पा काँग्रेसको माग

हाम्रा संवाददाता
पाल्पा । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस पाल्पाले पिसिआर मेसिन सहितको ल्याव स्थापना गरी परीक्षणको दायरा बढाउन माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई १६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । मंगलबार नेपाली कांग्रेसका जिल्ला सभापति तथा प्रदेश सांसद वीरबहादुर रानाको नेतृत्वमा जिल्ला प्रशासन पुगेका कांग्रेस नेताहरुले प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण–पत्र बुझाएका हुन् ।

काँग्रेसले जिल्ला वासीका लागि तत्काल पिसिआर मेसिन खरिद गरी परीक्षणको दायरालाई व्यापक बनाउन सरकारसँग माग गरेको छ । सरकार कोरोना नियन्त्रण तथा रोकथामका साथै गरिब तथा विपन्न परिवारलाई उचित राहत पु¥याउन असफल भइसकेको कांग्रेसले आरोप लगाएको छ । मापदण्ड विपरितका अव्यवस्थित क्वारेन्टाइनहरु कोरोना संक्रमण विस्तारको केन्द्र बन्दै गएको भन्दै क्वारेन्टाइनभित्र देखिएका बेथितिहरु तत्काल सुधार गर्न उसले सरकारसँग माग गरेको छ । ८३ औं दिनपछि लकडाउन केही खुकुलो भएपनि स्वास्थ्य सामग्रीको अपर्याप्तका कारण पिसिआर परीक्षण सुस्त गतिमा भइरहेको कांग्रेसले आरोप लगाएको छ ।

सरकारको उदासीनता र असंवेदनशीलताका कारण भारत लगायत विश्वका अन्य देशहरुमा अपलपत्र परेका नेपाली नागरिकहरु स्वदेश फर्किने वातावरण बन्न नसकेको भन्दै तत्काल उनीहरुलाई उद्दार गरी स्वदेश ल्याउन कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ । विदेशबाट आएका नागरिकलाई क्वारेन्टाइनमा राख्ने, पिसिआर परीक्षणा गरेर मात्र घर पठाउने प्रक्रिया अविलम्ब थालनी गर्न, भारत बाहेक अन्य देशहरुबाट उद्दार गर्न खोजिएका नेपालीहरुको सम्पूर्ण खर्च सरकारबाटै गर्न काँग्रेसले माग गरेको छ । त्यस्तै काँग्रेसले विपद्को समयमा स्वास्थ्य सामग्री खरिद, विदेशबाट नागरिकको उद्दार, क्वारेन्टाइन व्यवस्थापन, राहत वितरण लगायत विषयमा एकपछि अर्को अनियमितता गरेको भन्दै आपत्ति जनाएको छ । उसले यो विषयले प्रमुख प्रतिपक्षी दललाई लज्जित बनाएको बताएको छ ।

कांग्रेसको १६ बुँदे ध्यानाकर्षणपत्रमा कोरोना परीक्षण, क्वारेन्टाइन व्यवस्थापन, कन्ट्राक्ट ट्रेसिङ, अस्पतालको व्यवस्थापन, सामग्रीको आपूर्ति र व्यवस्थापन, अनियमितताको छानबिन र पारदर्शिता, राहत वितरण, विदेशबाट नागरिकको उद्दार, रोजगारी, कृषि र खाद्य सुरक्षा, आर्थिक क्षेत्र, विद्यार्थीको सम्बन्धमा, र मनोसामाजिक परामर्श र सुरक्षाको विषय समेटेको छ । ध्यानकर्षण पत्र बुझ्दै प्रजिअ न्यौपाने पत्र जस्ताको तस्तै तत्कालै प्रधानमन्त्री कार्यालयमा पठाइदिने बताए ।

भिडियो सहित....

प्रकाशित मिति: मंगलबार, असार २, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update