Shittalpati
पाल्पामा थप १० जनामा कोरोना, संक्रमितको संख्या ५० पुग्यो

कृष्ण पोखरेल

पाल्पा । पाल्पामा थप १० जनामा कोरोना संक्रमण देखिएको छ । सोमवार मात्र पाल्पामा १० जना सक्रमित थपिएका हुन । थपिएका सक्रमित १० जना पूर्वखोला गाउँपालिकाका रहेका छन् । उनीहरु वडा नंं ५ विरकोट स्थित जनकल्याण आधारभुत विद्यालयको क्वारेन्टाइनमा बस्दै आएका वडा नंं १ का ६ जना पुरुष, वडा नंं २ का १ जना पुरुष र वडा नंं ४ का ३ जना पुरुष रहेका छन् । सक्रमित वडा नंं दुई र चारका ४ जना वडा नंं २ जल्पाको शम्भु माविको क्वारेन्टाइनमा बस्दै आएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताए । १० जना थपिएसंगै पूर्वखोला गाउँपालिकामा मात्र १२ जना कोरोना पोजेटिभ देखिएका छन् ।

गाउँपालिकाबाट ५० जनाको स्वाव परीक्षणको लागि पठाएकोमा ३५ जनाको रिपोर्ट आएकोमा १० जना पोजेटिभ र २५ जनाको नेगेटिभ आएको गाउँपालिकाका स्वास्थ्य संयोजक मोहन ढकालले जानकारी दिए । सक्रमितहरुलाई रम्भा गाउँपालिकाको ताँहुमा निर्माण गरिएको संयुक्त आइसोलेसनमा राखिने तयारी भईरहेको संयोजक ढकालले बताए । यो सँगै पाल्पामा कोरोना संक्रमितको संख्या ५० पुगेको छ ।

हिजो मात्र रम्भा गाउँपालिकामा १६ जना र बगनासकाली गाउँपालिकामा १ जना कोरोना पोजेटिभ देखिएको थियो । यस अघि माथागढी गाउँपालिकामा १४ जना, रैनादेवी छहरा गाउँपालिकामा २ जना, निस्दी गाउँपालिकामा ३ जना, रामपुर नगरपालिकामा २ जना, पुर्वखोला गाउँपालिका २ जना व्यक्ति कोरोनाबाट सक्रमित भएका छन् । एक जना सक्रमितको उपचारको क्रममा मत्यु भएको थियो । आईसोलेसनमा बसेका सक्रमितहरुको सबै स्वास्थ्य अवस्था सामान्य रहेको छ । पाल्पाबाट संकलित गरी पठाएको ६ सय स्वाव परीक्षण गर्न बाँकी रहेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख न्यौपानेले बताए ।

प्रकाशित मिति: सोमबार, असार १, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update